जुवाडेबाट बरामद २१ हजार रुपैयाँ अशक्त विद्यार्थीलाई


 


मेलम्ची, भदौ ७

इलाका प्रहरी कार्यालय, मेलम्चीले जुवाडेबाट सोमबार बरामद भएको रु २१ हजार २०५ नगद मंगलबार साँझ फरक क्षमता भएका (अशक्त) विद्यार्थीको पठनपाठनका लागि सहयोग गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–४ मा जुवातास खेलिरहेको अवस्थामा नगदसहित पक्राउ परेका चारजना जुवाडेबाट उक्त रकम बरामद भएको प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो ।

इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीमा अध्ययनरत फरक क्षमता भएका १२ छात्रा र छ छात्रको पठनपाठनका लागि विद्यालयका लेखापाल महेन्द्र सापकोटा र विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मण गौतमलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

छात्राबासमा बस्दै आएका ती १८ विद्यार्थीको शिक्षाका लागि प्रहरीले वितरण गरेको रकमले निकै ठूलो राहत पुग्ने स्थानीय पत्रकार देवराज सुवेदीले जानकारी दिनुभयो ।

पक्राउ परेका चारैजनालाई जुवातास नखेल्ने शर्र्तमा र खेलेको फेला परे कानूनबमोजिम कारबाही गरिने बताउँदै एकपटक सम्झाइबुझाइ छोडिएको प्रहरीले जानकारी दिएको छ । रासस

प्रकाशित मिति: ७ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्