अब सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा निःशुल्क, सर्बोच्चले दियो यस्तो आदेश


 



काठमाडौं, भाद्र ६
अब यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाको शुल्क नलिने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले यसअघि दीपक पराजुलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई विपक्षी बनाई दायर गरेको रिटलाई सदर गर्दै प्रयोगात्मक परीक्षार्थीका लागि गाडी उपलब्ध गराएबापत परीक्षार्थीबाट शुल्क असुल गर्ने काम नगराउन मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि ‘श्रीभेइकल सोलुसन एन्ड रिसर्च सेन्टर’ ले विभागसँग सम्झौता गरी प्रयोगात्मक परीक्षामा गाडी उपलब्ध गराएबापत परीक्षार्थीबाट शुल्क लिँदै आएको थियो ।

पराजुलीले यसअघि शुल्क लिनु अवैधानिक भन्दै सर्बोच्चमा रिट दायर गरेका थिए । आदेशपछि यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले अब परीक्षार्थीलाई गाडी निःशुल्क दिने बताएका छन् । यद्यपि उनले अहिलेको अन्तरिम आदेश भएकाले पूर्ण फैसला भएपछि विकल्प खोजिने बताएका छन् ।

प्रकाशित मिति: ६ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्