प्रधानमन्त्री देउवाको भारत भ्रमण भोलि : यस्तो छ भ्रमण तालिका


 


काठमाडाैं, भदौ ६

प्रधानमन्त्री शेरबहादुर देउवाको ७ भदौदेखि हुने भारतको राजकीय भ्रमणको तयारी पूरा भएको छ । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकैसाथ सोमबार विज्ञप्ति जारी गरी पाँचदिने राजकीय भ्रमणको मिति घोषणा गरेका छन् । देउवा भ्रमणको तयारीका लागि मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सम्बन्धित परियोजनासँग सम्बन्धित अधिकारीहरूको बैठक राख्दै छन् । अाजको नयाँ पत्रिकामा खबर छ ।

देउवा र मोदीबीच एक्ला एक्लै भेटवार्ता हुने
प्रधानमन्त्री देउवा ७ भदौमा दिल्ली आउने र भोलिपल्ट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकैया नायडुसँग भेटवार्ता गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । मोदीले देउवाको सम्मानमा हैदरावाद हाउसमा दिवाभोज आयोजना गर्नेछन्, जहाँ देउवा र मोदीबीच एक्लाएक्लै करिब आधा घन्टा वार्ता हुने पनि तय भएको छ ।

यसअघि पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीले पनि मोदीसँग एक्लाएक्लै वार्ता गरेका थिए । तर, त्यस्तो भेटवार्तामा मोदीको पृष्ठभूमिमा भारतीय अधिकारी बसेका थिए भने नेपालका प्रधानमन्त्रीद्वयले भने कोही पनि सहयोगी राखेका थिएनन्।

देउवालाई राष्ट्रपति भवनमा राखिने
दिल्लीमा भारत सरकारका वरिष्ठतम मन्त्रीहरूले देउवालाई राष्ट्रपति भवनमा गएर शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । देउवा राष्ट्रपति कोविन्दका विशिष्ट पाहुनाका रूपमा राष्ट्रपति भवनमा बस्ने तय भएको छ । ३ असोज २०७२ मा नयाँ संविधान जारीपछि तत्कालीन प्रधानमन्त्रीद्वय केपी ओली र प्रचण्ड तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवनमा राखिएको थियो ।

भ्रमणको एजेन्डा
भ्रमणका क्रममा देउवाले यसअघि तीनपटक प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका, तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड गरी नेपालले तयारी गरिरहेको छ । पछिल्लोपटक प्रधानमन्त्री प्रचण्डको भ्रमण र दुवै देशका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका क्रममा भएका छलफलमा उत्पन्न नीतिगत समस्या समाधानमा पनि यसपटकको भ्रमण केन्द्रित हुनेछ । प्रधानमन्त्रीका रूपमा देउवाले यसअघि तीनपटक भारत भ्रमण गरेका थिए । राजदूत उपाध्यायका अनुसार भारतीय सीमावर्ती बाँधबाट नेपाललाई परेको समस्याबारे नेपालले भारतसँग धारणा राख्नेछ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले देउवाको भारत भ्रमण तय गरेको थियो । भ्रमणमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसहित करिब चार दर्जन अधिकारी सामेल हुनेछन् ।

डोक्लाम विषयमा छलफल हुन सक्ने : विज्ञ
नेपाल–भारत सम्बन्धका जानकार डा.निहार नायकका अनुसार भारतले चीन र भारतबीच पछिल्लो समयमा भुटानको दोक्लाम विषयमा उत्पन्न विवादबारे औपचारिक प्रतिनिधिमण्डलमाझ छलफल हुनेछैन, तर मोदी र देउवाको एक्लाएक्लै भेटमा कुरा हुन सक्छ । ‘१९५० को सन्धिमा नेपाल र भारत एक–अर्काले यस्ता विषयमा जानकारी दिने उल्लेख गरिएको छ, यसअनुसार भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई घटनाक्रमबारे एक्लाएक्लै वार्तामा जानकारी दिन सक्ने सम्भावना छ,’ नायकले भने । तर, नेपालले लिएको तटस्थ नीतिलाई भारतले उच्च महत्व दिएको उनले बताए । ‘नेपालले लिएको अडान सही छ भन्ने भारतको बुझाइ छ, नेपालको अवस्था हामीले बुझेका छौँ । भारतले छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायसँग समर्थन खोजिरहेको छ, तर नेपाल तटस्थ बसिदिँदा भारतलाई फाइदा छ ।’ चीनले पनि नेपालको तटस्थताको अपेक्षा गरेको सार्वजनिक भइसकेको छ ।

संविधान र निर्वाचनबारे छलफल हुने
नायकका अनुसार नेपालको संविधान स्थानीय तहको निर्वाचनसँगै कार्यान्वयनसँगै अब भारतको असन्तुष्टिको कुनै अर्थ छैन । ‘भारतले संविधानलाई स्वागत गर्नुको अब विकल्प छैन, स्वागत नगर्दा पनि नेपाल–भारत सम्बन्धमा त्यति फरक पर्नेवाला म देख्दिनँ,’ नायकले भने । भारतले स्थानीय, प्रादेशिक र संसदीय निर्वाचनलाई सहयोग गरिसकेको उल्लेख गर्दै नायकले यसपटक देउवालाई भारतले थप आश्वस्त पार्न सक्ने पनि बताए ।

 

प्रकाशित मिति: ६ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्