प्रहरीमा किन अख्तियार जान होडबाजी ? यस्तो छ कारण


 


काठमाडाैं, भदौ ५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा हुन प्रहरीमा होडबाजी चल्ने गरेको छ । महाभियोग लाग्दालाग्दै अदालतको फैसलाबाट बर्खास्त भएका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अख्यिारमा प्रहरी दरबन्दी ६ गुणाले वृद्धि गराएका थिए । दरबन्दी बढेसँगै अख्तियारमा पोस्टिङ खोज्दै राजनीतिक ‘सोर्स’ र अख्तियारकै ‘कृपा’ खोज्ने प्रवृत्ति प्रहरीमा बढेको हो । अाजको अन्नपूर्णमा खबर छ ।

प्रहरी प्रधान कार्यालयले हालै डीएसपीबाट एसपीमा बढुवा भएकामध्ये आठजना (सुशीलसिंह राठौर, माधव श्रेष्ठ, उमाप्रसाद चतुर्वेदी, विमल बस्नेत, राजन अधिकारी, ईश्वर कार्की, अरुण पौडेल र किसनसिंह थापा)लाई अख्तियारमा पदस्थापन गर्‍यो । ३५ एसपीको पदस्थापन गर्दा २८ जनाको ‘खाली’ को कारण देखाइएको छ । अख्तियार पठाइएका आठ जनाको हकमा भने कारण खुलाइएको छैन ।

अख्तियारमा सरुवा मिलाउन ‘बाहिरी स्रोत’बाट प्रहरी नेतृत्वमाथि दबाब दिलाउनु सामान्य भइसकेको मुख्यालय स्रोत बताउँछ । एक पूर्वउच्च अधिकृत भन्छन्, ‘१३ पाने सम्पत्ति विवरण भर्नुपर्ने त्रास सबैभन्दा ठूलो कारण हो ।’पूर्वप्रमुख आयुक्त कार्कीले आफ्नो कार्यकालमा प्रहरी कर्मचारीको नामै तोकेर सरुवा गर्न दबाब दिने गरेको अधिकारी बताउँछन् ।

प्रहरीले पहिलो रोजाइका आकर्षक ठाउँ नपाएको अवस्थामा अख्तियारलाई वैकल्पिक गन्तव्य बनाएको देखिन्छ, जहाँका ‘छुट्टै फाइदा’ पाइन्छ । तल्लो तहका लागि त्यहाँको पोस्टिङबापत प्राप्त हुने भत्ता नै ठूलो आकर्षण देखिएको छ । वरिष्ठ अधिकृतका लागि चाहिँ धेरै लाभ मिल्न सक्छ- बढुवाका लागि वातावरण निर्माण, अर्कोपटक चाहेको ठाउँमा सरुवा र तक्माका लागि सिफारिस ।

तत्कालीन प्रमुख आयुक्त कार्कीले ४० जनाको दरबन्दीलाई दुईपटक बढाएर २ सय २७ पुर्‍याएका थिए । केन्द्रमा सीमित संस्थालाई क्षेत्रगत विस्तारमा लगे, जसले गर्दा अख्तियार भर्तीकेन्द्र बन्न पुगेको जानकारको भनाइ छ । कार्कीले आफ्ना अंगरक्षक इन्स्पेक्टर दानबहादुर कार्कीलाई डीएसपीमा बढुवा मात्र दिलाएनन्, संयुक्त राष्ट्रसंघको विशेष मिसनमै पठाए । त्यसमा तत्कालीन प्रहरी नेतृत्व निरीह देखिएको थियो ।

अहिले अख्तियारका इटहरी, धनकुटा, हेटौंडा, बर्दिबास, पोखरा, बुटवल, सुर्खेत, कोहलपुर, कञ्चनपुर र दिपायलमा क्षेत्रीय कार्यालय छन् । ती स्थानमा एसपीदेखि डीएसपीसम्म प्रमुख रहने दरबन्दी छ ।

प्रहरी प्रधान कार्यालयले साउन ३२ गते डीएसपीको सरुवा र पदस्थापन गर्दा पनि १२ जनालाई अख्तियारै पठायो । प्रहरी निरीक्षकबाट डीएसपी भएका क्रमशः नरेन्द्र कुँवर, मुकुन्दप्रसाद रिजाल, रूपक खड्का, प्रेमसागर केसी र विष्णुप्रसाद लामिछानेले अख्तियार पाए । उनीहरूको ‘खाली’को कारण नदेखाई ‘अख्तियारको मातहत’ मात्रै भनेर सरुवा गरिएको छ ।

 

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्