यसरी चल्छ गाउँमा अझै मुखियाको शासन 


 



मुस्ताङ, भदौ ३

मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा २४ वर्षीया छिरिङ ल्हामो निर्वाचित भइन् । सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाको अध्यक्षमा आसबहादुर थकाली निर्वाचित भए । स्थानीय तह निर्वाचन सकिएको तीन महिनापछि साउन अन्तिम साता मुखियाको निर्वाचनसमेत भयो । जोमसोममा दुईवटा टोल छन् । सरकारी कार्यालय रहेको टोलमा रामप्रसाद थकाली र एयरपोर्ट टोलमा सुरेन्द्र थकाली मुखिया छानिएका छन् ।

न्याय-निसाफको नियमन गर्न यहाँ सरकारका वैधानिक अंग जिल्ला अदालत, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय छन् । विकास निर्माणको काम गर्न दर्जनौं सरकारी निकाय, गैरसरकारी संस्था छन् । स्थानीयस्तरको एजेन्डामा काम गर्न जनप्रतिनिधिसमेत आइसकेका छन् । यति हुँदा पनि यहाँ अधिकांश काम भने मुखियाले नै गर्छन् । जोमसोम बजारमा त मुखिया कार्यालय नै छ ।

जोमसोममा मात्र होइन, मुस्ताङका पाँचै गाउँपालिकामा जनप्रतिनिधि आइसकेका हुन् । दालमे गाउँपालिकामा राजु विष्ट, लोमान्थाङमा सुवर्णकुमार विष्ट, बाह्रगाउँ मुक्ति क्षेत्रमा धारा गुरुङ, थासाङमा शेरबहादुर थकाली र घरपझोङमा आसबहादुर थकाली निर्वाचित भएका छन् । २५ वटै वडामा पनि जनप्रतिनिधि छन् । तर, २५ वडाका करिब ५० गाउँमा ५० जनै मुखिया चुनिएका छन् ।

वडाध्यक्ष त सरकारको मात्र काम गर्ने हुन् । गाउँको सबै काम हामी नै गर्छौं । मुखियाकहाँ नआई कोही प्रहरी वा अध्यक्षकहाँ गयो भने हामी निर्णय उल्टाइदिन्छौं । कर्मा छोक्ले, कागबेनी गाउँका पुराना मुखिया मुस्ताङमा मुखियाको रजाइँ सयौं वर्षदेखिको हो ।

त्यसैले सरकारी कार्यालय र निर्वाचित जनप्रतिनिधि पनि उनीहरूको अस्तित्व सहज रूपमा स्वीकार गर्छन् । उनीहरू मुखियालाई ‘अगुवा’ वा ‘सहयोगी’का रूप लिन्छन् । त्यसैले मुखिया पनि आफूसँग समन्वय नगरी गरिएको काम उल्टाइदिने हैसियत राख्छन् ।

‘वडाध्यक्ष त सरकारको काम गर्ने हुन् । गाउँको सबै काम हामी नै गर्छौं’, कागबेनी गाउँका पुराना मुखिया कर्मा छोक्ले भन्छन्, ‘मुखियाकहाँ नआई कोही प्रहरी वा अध्यक्षकहाँ गयो भने हामी निर्णय उल्टाइदिन्छौं ।’

सरकारी निकायभन्दा मुखियामा गाउँलेको आस्था बढी रहेको उनको दाबी छ । ‘पहिला हामीकहाँ आउँछन् । हामी कचहरी राखेर समाधान गर्छौं । मिलेन भने हामीभन्दा माथि सात सदस्यीय समिति हुन्छ । उनीहरूले मिलाउँछन् । नमिल्ने भन्ने हुँदैन’, उनी भन्छन्, ‘वडाध्यक्ष र गाउँपालिकाका अध्यक्षको त खासै काम हुँदैन ।’ अाजको अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: ३ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्