बाबुरामको ‘बोल्ड’ निर्णय : देबेन्द्र पौडेलसहित १५ जना पार्टीबाट निस्काशित, को–को परे ?


 


काठमाडौं, भदौ २

नयाँ शक्ति पार्टी नेपालले पार्टीका संघीय परिषद सदस्य देवेन्द्र पौडेलसहित १५ जनालाई निस्काशित गरेको छ ।

पार्टी नीति र विचार विपरित कार्य गर्दै आएको भन्दै पार्टी संयोजक बाबुराम भट्टराईले शुक्रबार बेलुका प्रेस वक्तव्य सार्वजनिक गर्दै उनीहरुलाई पार्टीबाट निस्काशित गरेको जनाएका हुन् । कारबाही स्वरुप पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यसमेत नरहने गरिएकाे जनाइएको छ ।

भट्टराईले पौडेलसहित वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईं, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवारसहितका नेताहरुलाई पार्टीबाट निष्काशन गरेको वक्तव्य मार्फत जनाएका छन् । पाैडेलसहितका १५ जनाले शुक्रबार नै बृहत ध्रुविकरण समिति गठन गरेका थिए ।

यस्तो छ बक्तव्य

प्रेस वक्तव्य

नयाँ शक्ति पार्टी नेपालका संघीय परिषद सदस्य श्री देवेन्द्र पौडेल, वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईं, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवारसहितका १५ जनाले पार्टी नीति र विचार विपरित कार्य गर्दै आएकोमा पटक–पटक यसो नगर्न सचेत गराई रहँदा पनि उहाँहरुले पार्टी विरोधी गतिविधि गरिरहेको हुँदा पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यबाट समेत निष्काशन गरिएको छ ।

–––––––––––––––––––––––
डा. बाबुराम भट्टराई
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल

naya shakti

प्रकाशित मिति: २ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्