बालिकाको हत्या गरी भारतमा लुकेका अभियुक्त हरियाणाबाट पक्राउ


 


भीमदत्तनगर, भदौ २

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनामा १० वर्षीया बालिकाको हत्या गरी फरार रहेका अभियुक्त भारतको हरियाणाबाट पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका मटेनाका १० वर्षीया बालिका शीतल विष्टको गत साउन २२ गते घाँटी च्यापेर हत्या गरी स्थानीय गौताडी खोलामा बाढीमा बगेको भनी घटना मोड्न खोजेका स्थानीय ३० वर्षीय अभियुक्त हीरासिंह ऐरीलाई प्रहरीले हालै भारतको हरियाणाबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको टोलीले अभियुक्त ऐरीलाई हरियाणास्थित आफन्तको डेराबाट नियन्त्रणमा लिई भीमदत्तनगर पु¥याएको छ ।

प्रहरीसमक्ष ऐरी बालिकाको घाँटी च्यापेर हत्या गरेको स्वीकारेका छन् । पक्राउ परेका अयिभुक्तसहित घटनाबारे बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले छिमेकमा खेल्न भनी गएकी बालिका विष्टलाई मादक पदार्थ सेवन गरेका अभियुक्त ऐरीले हत्या गरी राति नजिकैको खोलामा लगेर फालेको बताउनुभयो ।

“शुरुमा विष्टका आफन्तले खोलामा मृतावस्थामा भेटिएको भनी प्रहरीमा उजुरी दिए ।” प्रहरी उपरीक्षक चन्दले भन्नुभयो– “घटनास्थलको अनुसन्धान र शव परीक्षण रिपोर्ट हेर्दा हत्या भएको आशंकापछि हाम्रो गहन अनुसन्धान भयो र सफल पनि भयौँ ।”

प्रकाशित मिति: २ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्