त्रिविमा पञ्चायतदेखिको बेरुजु, कति छ बाँकी ?


 



काठमाडौं, भदौ २
त्रिभुवन विश्वविद्यालयको बेरुजु १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार पुगेको छ । त्रिविमा पञ्चायतकालदेखिको बजेट फर्छ्याेट नहुँदा आर्थिक वर्ष ०७३÷७४ सम्ममा १३ अर्बभन्दा बढी बेरुजु देखिएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

त्रिविले बेरुजु फर्छ्याेटलाई प्राथमिकमा राखेर यस्ता काममा सक्रिय हुने कर्मचारीलाई पुरस्कारको समेत व्यवस्था गरेको छ । त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीका अनुसार बेरुजु फर्छ्याेट गर्ने कर्मचारीलाई प्रोत्साहन गरी आर्थिक एकाइलाई कारोबार रकमका आधारमा पाँच हजारदेखि १० हजार रुपैयाँसम्म पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ । त्रिविले बेरुजु फस्र्योटलाई प्राथमिकता दिए पनि आव ०७३÷७४ सम्मको बेरुजुको रकम ३ अर्ब आठ करोड रुपैयाँभन्दा बढी पुगेको हो ।

रजिस्ट्रार उप्रेतीका अनुसार त्रिविमा सैद्धान्तिक बेरुजु धेरै रहेको बताए । त्रिविका आंगिक क्याम्पसले पहिले बजेटमा नराखेर पछि खर्च गरेको र पछि केन्द्रबाट अनुमोदनसमेत नगरेकाले बेरुजुको आकार ठूलो भएको हो । आन्तरिक कार्यक्रमलगायतमा सैद्धान्तिक बेरुजु आंगिक क्याम्पसका अधिकांश रहेको छ ।

त्रिविमा पञ्चायतकालदेखिको बेरुजु रहेको त्रिविका आर्थिक प्रमुख कुमार हुमागाईंले बताए । पञ्चायतकालमा अध्ययन संस्थानहरूले विभिन्न प्रोजेक्ट ल्याएर काम गरेको, तर त्यसको रेकर्डसमेत पाउन कठिन भएको उनले बताए । पञ्चायतकालमा विद्यार्थीलाई खुवाउने गरेको खानाको विषयमा समेत बेरुजु देखिएको छ ।

हुमागाईंले यो आर्थिक वर्षमा बेरुजु फस्र्योटको वर्षका रूपमा मनाउने बताए ।

त्रिवि सभाले आव ०७४÷७५ का लागि १९ अर्ब ३१ करोड सात लाख ५८ हजार रुपैयाँको बजेट पारित गरेको छ । प्रधानमन्त्री एवं त्रिवि कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले पुनर्निर्माणबाहेकको १९ अर्बभन्दा बढीको बजेट पारित गरेको हो । अघिल्लो वर्ष पुनर्निर्माणसहित १८ अर्बको बजेट विनियोजन भएको थियो ।

नियमित कार्यक्रमतर्फ १० अर्ब ८२ करोड ५० लाख २२ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, पुँजीगत खर्च आठ अर्ब पाँच करोड ७२ लाख ३६ हजार र विकास कार्यक्रममा ४२ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

कहिले कति भयो बेरुजु फर्छ्याेट ?
केही वर्षयता त्रिविले बेरुजु फछ्र्योटको प्रयास गरेको छ । बेरुजु फछ्र्योट तथा अनुगमन समितिको तथ्यांकअनुसार आव ०७२÷७३ मा कुल १२ अर्ब ५७ करोज ३० लाख ५० हजार रुपैयाँ बेरुजु रहेको थियो । गत आवमा एक अर्ब ५९ करोड ३० लाख ५८ हजार फस्र्योट भएको थियो । सो आवसम्मको बाँकी १० अर्ब ५७ करोड ९९ लाख ९२ हजार रहेकामा ४३ करोड ८७ लाख ९१ हजार संपरीक्षणका क्रममा रहेको त्रिविले जनाएको छ ।

०७३/७४ मा पुनः बेरुजु दुई अर्ब १० करोड ३९ लाख ४१ हजार थप भई १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार रुपैयाँ पुगेको हो । त्रिविले आव ०७२/७३ मा पेस्की फछ्र्योटतर्फ २७ करोड तीन लाख ४७ हजार दुई सय २८ रुपैयाँ असुलउपर गरेको थियो । त्रिविले अब बेरुजु र पेस्कीको मात्रा न्यून गर्नेसमेत जनाएको छ ।

प्रकाशित मिति: २ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्