राजनीतिज्ञ जोशीको ‘यात्राः आफ्नै आँगनको’ काव्य कृति बजारमा


 


काठमाडौँ, भदौ १

राजनीतिज्ञ चन्द्रदेव जोशीले लेख्नुभएको ‘यात्राः आफ्नै आँगनको’ नामक काव्य कृति बजारमा आएको छ ।

कृतिमा मेरो बाटो, नयाँ झिल्को : आशाको, एउटा बस्ती : गाउँको, इतिहासको बाटो, काठमाडौँ खाल्डोलगायत शीर्षकमा भाव समेटिएको छ ।

यहाँ बुधबार आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले उक्त कृतिको लोकार्पण गर्दै अन्धकार युगमा रहेका जनतालाई ज्ञानको चेतनाले उज्यालोतर्फ लैजान पुस्तक उपयोगी रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दले ज्ञानको खोजीका लागि विभिन्न किसिमको संघर्ष गरी लेखकले मुलुकमा सामाजिक न्याय, समतामूलक समाज निर्माणका लागि कृति प्रेरणाको स्रोत बन्नसक्ने विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ साहित्यकार तारानाथ शर्माले प्रकृतिको व्यापकता, धरतीको जीवन, अन्तरिक्षको गहिराइ नै जीवनको रहस्य भएको सन्देश पुस्तकले दिने बताउनुभयो ।

पूर्वमन्त्री मोदनाथ प्रश्रितले प्रकृति, सौन्दर्य तथा राजनीतिलगायत समाजका विभिन्न आयामलाई लेखकले नयाँ शैलीबाट साहित्यमा प्रयोग गरेकाले पुस्तक पाठकलाई महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार बैरागी काँइलालगायतले मुलुकको राष्ट्रियता, इतिहास, मानवता, माक्र्सवादलगायत विषय कृतिको मूलपक्ष भएको बताउनुभयो । रासस

प्रकाशित मिति: १ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्