बाढीपीडितका लागि एक अर्ब निकासा, कति छ उद्दार कोषमा रकम ?


 



काठमाडौं, भदाै‌ १
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले बाढी, पहिरोपीडितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बुधबार बसेको बैठकले बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको हो ।

कोषले तत्काल पहिलो किस्तामा ५० करोड र दोस्रो किस्तामा ५० करोड दिने गरी १ अर्ब रुपैयाँ निकासा गरेको छ । सो रकम गृह मन्त्रालयमा रहेको केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ । बाढी प्रभावित जिल्लाका जिल्ला प्रशासन कार्यालयमातहत रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत पीडितलाई राहत वितरण गरिनेछ ।

नियमावलीअनुसार कोषमा जम्मा भएको रकम दैवी प्रकोपबाट असर परेको वा पर्न सक्ने व्यक्तिको उद्धार र सम्पत्तिको संरक्षण गर्न, राहत उपलब्ध गराई अस्थायी शिविर खडा गर्न, पीडितको भरणपोषण तथा जीवन निर्वाहका लागि प्रयोग गरिनेछ ।
कोषमा रहेको रकम पीडितलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, औषधि, शैक्षिक सामग्रीजस्ता अत्यावश्यक वस्तु खरिद गर्न, दैवी प्रकोपका कारण घाइते वा बिरामी भएका व्यक्तिको औषधोपचार गर्न, मृतकका आफन्तलाई काजकिरियाका लागि आर्थिक सहायता दिनेलगायतका कार्यमा प्रयोग गर्न सकिनेछ ।

बैठकले कोषको नाममा विभिन्न १८ वटा बैंकमा रहेका खातामध्ये ५० लाखभन्दा कम पैसा भएका खाता बन्द गर्ने निर्णयसमेत गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब १३ करोड रहेको थियो । यो रकम दुई वर्षअघि गएको भूकम्पका क्रममा विभिन्न दाता तथा संघसंस्थाबाट सहयोगस्वरूप उठेको थियो । अब सो कोषमा १ अर्ब १३ करोड मात्रै रहेको छ ।

गृहले पठायो ७ करोड १० लाख
गृह मन्त्रालयले बाढीपहिरो प्रभावित १८ वटा जिल्ला र क्षेत्रीय प्रशासन कार्यालय हेटौँडामा गरी बुधबार मात्रै ५ करोड १२ लाख रुपैयाँ पठाएको छ । बाढी प्रभावितलाई राहत तथा पुनस्र्थापनाका लागि सो रकम पठाइएको गृह मन्त्रालयका सहायक प्रवक्ता झम्क ढकालले जानकारी दिए ।

यसअघि गृहले ती जिल्लामा १ करोड ९८ लाख रुपैयाँ पठाएको थियो । बाढीपछि हालसम्म जिल्लामा जम्मा ७ करोड १० लाख पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: १ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्