संसदमा बाँदर भनेपछि बबाल, बीचमै उठे रामहरि


 


काठमाडौँ, साउन ३२

व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्ने क्रममा सांसदहरुले प्रयोग गरेको शब्दप्रति दुईपटक आपत्ति प्रकट गरिएको छ ।

नेकपा (एमाले)का सांसद ममता गिरीले आफ्नो पार्टीका तर्फबाट प्रस्तुत गरेका सार्वजनिक महत्वको प्रस्तावको बचाउ गर्दै बाँदर प्रवृत्तिका मानिसले मात्रै यो प्रस्तावलाई अस्वीकार गर्न सक्दछन् भन्ने आशयका अभिव्यक्तिप्रति सांसद रामहरि खतिवडाले तत्कालै उठेर आपत्ति जनाउनुभएको थियो ।

उहाँले भन्नुभयो– “बाँदर भन्ने शब्द संसदीय मर्यादा विपरीत भएकाले त्यसप्रति मेरो आपत्ति छ, त्यसलाई रेकर्डबाट हटाउन सभामुख समक्ष माग गर्दछु ।”

त्यसको लगत्तै सभामुखको भूमिकामा रहनुभएका नेपाली काँग्रेसका सांसद नारायणबहादुर कार्कीले उक्त शब्दलाई रेकर्डबाट हटाउन सचिवालयका कर्मचारीलाई निर्देशनसमेत दिनुभएको थियो ।

त्यसैगरी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का योगेन्द्र चौधरीले तराईको कुरा गर्दा बिहारसँग तुलना गरेर हेर्ने पार्टीले अहिले तराई–मधेसको डुबानको विषयमा सार्वजनिक महत्वको प्रस्ताव ल्याउनु कतिको ठीक होला ? भन्ने आशयले छलफलमा कुरा राखेलगत्तै एमालेका सांसद तथा जरुरी सार्वजनिक महत्वका प्रस्तावक भीम रावलले उक्त भनाइप्रति आपत्ति प्रकट गर्दै आफू सम्बद्ध पार्टीले तराईका विषयमा कहिले पनि त्यस्तो नभनेको र यस्ता किसिमको प्रचारसमेत नगर्न आग्रह गर्नुभएको थियो ।

उहाँले भन्नुभयो– “तराई मधेसप्रति आफ्नो पार्टीले कहिल्यै बिहारसँग जोडेर नहेरेको तथा नेपालको सार्वभौम, स्वतन्त्रता र अखण्डताप्रति आफ्नाे पार्टी सदैव सचेत रहेकाले अघिल्ला सांसदबाट तराई भनेको बिहार भन्ने अभिव्यक्ति एमाले भनेको भन्ने भनाइप्रति आपत्ति छ, यस्तो ‘कु’ प्रचार बन्द गरियोस् । रासस

प्रकाशित मिति: ३२ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्