अकासियो तरकारीको मूल्य, १३० प्रतिशतले बढ्यो


 


काठमाडौँ, साउन ३१

‘घिरौला कसरी हो साहू जी ?’ ‘केजीको १०० रुपियाँ हो, लैजाउनुहोस् बजारमा तरकारी नै छैन, बिहान ४:०० बजे गएर अलिअलि ल्याएको, ढिलो गएको भए रित्तै आउनुपर्ने रे’छ नि !’ सोमबार बिहान कीर्तिपुरका चोकका तरकारी व्यापारी रामेश्वर थापाले तरकारी किन्न आउने ग्राहकलाई मूल्यसँगसँगै सुनाउँदै गरेको गुनासो हो यो।

देशका ठाउँठाउँमा लगातार ठूलो वर्षाले बाटो भत्किएर बजारमा तरकारी नै आएको छैनन्, अलिअलि आएको पनि भाउ छोइसाध्यै छैन उनले भने ‘त्यही पनि ताजा भए त हुन्थ्यो नि, हेर्दै बासी जस्तो छ।’

एक दशकदेखि यहीँ ठाउँमा तरकारीको व्यापार गर्दै आएका थापाले कहिले कालिमाटी त कहिले बल्खुबाट बिहानै साइकलमा तरकारी ल्याएर बिक्री गर्दै आएका छन्। उनको पसलमा बिक्रीमा राखेका तरकारीमध्ये आलु प्रतिधार्नी १०० रपियाँ, गोलभेडा ठूलो प्रतिकेजी १०० रुपियाँ, घिउसिमी प्रतिकेजी १२० रुपियाँ, बन्दा प्रतिकेजी ६०, घिरौला प्रतिकेजी १०० रुपियाँ, तिते करेला प्रतिकेजी ६० रुपियाँ, लौका प्रतिकेजी ८० रुपियाँ, पाकेको फर्सी प्रतिकेजी ७० रुपियाँ, मूला प्रतिकेजी ४० रुपियाँ, स्कुस ६५ रुपियाँ, काँक्रो प्रतिकेजी ९० रुपियाँ मूल्य तोकेका छन्। आजको गोरखापत्र खबर छ ।

अन्य खुद्रा व्यापारीकोमा भन्दा केही सस्तोमा पाइने हुँदा वरिपरिका सर्वसाधारण उपभोक्ता यही पसलमा आउने गर्छन्। अघिल्ला वर्षहरूमा अन्य समयको तुलनामा केही महँगो भए पनि अहिले जस्तो तरकारी नै नपाइने अवस्था भने नभएको अनुभव थापाको छ। लगातारको वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरोले सडकमा क्षति पुगेर तरकारी आयात नै कम हुन थालेपछि उपत्यकामा तरकारीको भाउ आकासिएको व्यापारी बताउँछन्।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सामान्य अवस्थामा अरू बेलामा यस बजारमा दैनिक झण्डै ८५० टनको हारहारिमा तरकारी भित्रिने गरेकोमा शनिबारदेखि दैनिक २५० देखि ३०० टनको हाराहारिमा मात्रै तरकारी भित्रिएको छ।

 

प्रकाशित मिति: ३१ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्