उपप्रधानमन्त्री श्रेष्ठले भने- डा. केसीले सामान्य मागमा अडान लिनुहुँदैन


 


काठमाडौँ, साउन २८

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आमरण अनशनरत डा गोविन्द केसीले राखेका माग पूरा भइसकेको भन्दै अनशन तोड्न आग्रह गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्, महिला, बालिबालिका ज्येष्ठ नागरिक समितिले डा केसीले उठाउनुभएका विषयवस्तुलाई समेटेर तयार गरिएको चिकित्सा शिक्षा विधेयक २०७३ शुक्रबार पारित गरेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा केसी चिकित्सा शिक्षा विधेयक पारितलगायत विभिन्न माग राख्दै २० दिनदेखि त्रिवि शिक्षण अस्पतालमा आमरण अनशनमा हुनुहुन्छ ।

शंखादेवी भूपू विद्यार्थी समाजले यहाँ आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले डा केसीका सम्पूर्ण माग पूरा भइसकेको सन्दर्भमा डा केसीले जतिसक्दो चाँडो अनशन तोड्ने विश्वास व्यक्त गर्नुभयो ।

शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि डा. केसीले अनशनलाई निरन्तरता भएको भन्दै मुख्य माग पूरा भएकाले सामान्य मागमा अडान नलिनसमेत उपप्रधानमन्त्री श्रेष्ठले आग्रह गर्नुभयो । “अस्थायी शिक्षकको मागलाई समेत पूरा गर्नका लागि म प्रतिबद्ध छु”– उहाँले भन्नुभयो ।

त्यसैगरी शिक्षा मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी चिकित्सासम्बन्धी विधेयक संसद्मा पेस भई शीघ्र निर्णय हुने अवस्थामा रहेका साथै अन्य माग पनि तत्काल सम्बोधन हुनसक्ने अवस्था रहेको हुँदा तत्काल अनशन तोड्न डा केसीलाई अपिल गरेको छ । रासस

प्रकाशित मिति: २८ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्