सिन्धुलीमा पहिरोले घर भत्काउँदा एकै परिवारका ४ जनाको मृत्यु


 


सिन्धुली, साउन २८
सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा शनिबार विहानै २ बजे खसेको पहिरोले घर भत्काउँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर ३७ वर्षीया दुर्गा खड्का, उनकी १५ वर्षीया छोरी शोभा, १० वर्षीय छोरा अनिज र आठ वर्षीय मनिषको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा पुरिएका दुर्गाका श्रीमान उदयबहादुर खड्कालाई भने सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको आवासीय भवन नजिकैबाट झरेको पहिराले घर पुरिएको थियो । राति २ बजेतिर पहिराले घर भत्काएपछि आफू भागेर बाँच्न सफल भएको तर राति हारगुहार गर्दा उद्धार गर्न ढिलो हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको खड्काले बताए ।

“राति २ बजेतिर पहिरो आएछ । म ढोकाको छेउमा सुतेको थिएँ । श्रीमती र छोराछोरी भित्तापट्टि सुतेका थिए । पहिरो आउनासाथ म भागेँ, उनीहरु भाग्न भ्याएनन् । राति २ बजेदेखि चिच्याएँ, ठूलो पानी परेकाले कोहीले थाहा पाएनन् क्यार, करिब ४ बजेतिर छिमेकीले प्रहरीमा खबर गरिदिए” खड्काले भने।

सिन्धुलीमाढीमा दैनिक ज्याला मजदुरी गर्ने खड्काको परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा घर बनाएर बसेको थियो ।

प्रकाशित मिति: २८ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्