सञ्चार उद्यमी चौधरीको निधन


 


बर्दिवास, साउन २८

महोत्तरी जिल्लाका सञ्चार उद्यमी वृजकिशोर (विजयकुमार) चौधरीको शुक्रबार निधन भएको छ ।

जिल्ला सदरमुकाम जलेश्वरमा विसं २०६५ मा ‘जलेश्वरनाथ एफएम रेडियो’ स्थापना र सञ्चालन गर्ने जलेश्वर नगरपालिका रतबाराका बासिन्दा चौधरी ६२ वर्षको हुनुहुन्थ्यो ।

लामो समयदेखि मधुमेह, निमोनिया र उच्च रक्तचापबाट पीडित चौधरीलाई भारतको पटनामा लामो उपचारपछि यसै साता घर ल्याइएको थियो ।

जलेश्वरनाथ रेडियो सञ्चालक बोर्डका अध्यक्ष चौधरीको निधनमा नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डल, नेपाल प्रेस युनियनका नागेन्द्रकुमार कर्ण, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष धीरेन्द्र राय र प्रेस सेन्टर नेपाल महोत्तरीका अध्यक्ष सुनिता बरालले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गर्नुभएको छ । चौधरीका पत्नी, दुई छोरा र दुई छोरी छन् । रासस

प्रकाशित मिति: २८ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्