धनगढीका मेयरद्वारा गाडी किन्न दुई करोड बजेट विनियोजन


 



सीताराम ओझा/धनगढी, साउन २७
धनगढीका मेयर नृपबहादुर ओडले सवारी साधन खरिदका लागि दुई करोड विनियोजन गरेका छन् । आर्थिक वर्ष २०७४÷७५ का लागि प्रक्षेपित व्यव अनुमान गर्दै तयार पारिएको वार्षिक वजेटमा दुई करोडको गाडी खरिद गर्ने योजना समावेश गरिएको हो ।

धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको विभिन्न वजेट शिर्षकमा पदाधिकारी र कर्मचारीहरुलाई आर्थिक लाभ हुने गरि रकमहरु विभाजन गरेको पाइएको छ ।

वार्षिक बजेटको ठूलो हिस्सा कर्मचारी र जन प्रतिनिधिहरुको तलब भत्ताकै लागि छुट्टाइएपछि यसले उप–महानगरबासीलाई नै तरंगित बनाएको छ । पूँजी निर्माण खर्च अन्तर्गत विनियोजन गरिएको शिर्षकमा दुई करोडको गाडीसँगै १५ लाखको फर्निचर र १० लाखका मेसिनरी औजार खरिद गर्ने लेखिएको छ ।

नगर सभाको बन्दसत्रले पास गरेका अधिकांश योजनाहरु हेर्दा त्यसमा कर्मचारी र पदाधिकारीहरुलाई खुशी पार्दै नगरबासीहरुलाई हिस्स पार्ने गरी चालु आर्थिक वर्षको बजेट विनियोजन गरिएको नगरबासीले गुनासो गरेका छन् ।
कर्मचारीहरुले झण्डै २० करोड रकम आफ्नो तलबका लागि मात्रै छुट्टाएको अवस्थामा धेरै शीर्षकमा रकम कुम्ल्याउन सक्ने शिर्षकमा बढी रकम विनियोजन गर्दै मौकामा चौका हानेका हुन् ।

पदाधिकारीहरुको लागि ५० लाख भत्ता, ४६ लाख कर्मचारी र पदाधिकारीको लागि इन्धन, फर्निचर मेसिनरी औजारका लागि ४५ लाख, भ्रमणका लागि ३० लाख, अतिथि सत्कारमा २० लाख र भइपरी विकास शीर्षकमा ५० लाख, गाडी मर्मतका लागि ४० लाख बजेट विनियोजन गरिएको छ ।

वार्षिक बजेटमा विविध खर्च शीर्षकमा ४६ लाख, मर्मत सम्भारमा २८ लाख, सवारी मर्मतमा २० लाख इन्धनमा ३१ लाख, कार्यालय सम्वन्धी खर्चमा ४० लाख पोशाकमा १० लाख खाद्यान्न तथा आहारामा १० लाख औषधि उपचारमा ८ लाख भाडा वापत २८ लाख परामर्श तथा अन्य सेवा शुल्कमा ५ लाख आर्थिक सहायतमा ५ लाख परिषद सञ्चालन गर्नका लागि दुई पटक गरी १५ लाख रकम छुटाइएको छ ।

 

प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्