कामदारबाट लाखौं ठगी गर्ने मेनपावर कम्पनीलाई कारबाही भएन


 



काठमाडौं, साउन २७
सेक्युरिटी गार्डको काम लगाउने भन्दै ५० कामदारबाट प्रतिव्यक्ति नौ लाख रुपैयाँसम्म उठाएर ठगी गर्ने धुम्बाराहीस्थित एसआरएस ओभरसिजलाई वैदेशिक रोजगार विभागले कारबाही नै नगरी छाडेको छ ।

म्यानपावर सञ्चालक सुभद्रा बरालविरुद्ध प्रमाणसहित उजुरी गरेको भए पनि विभागका कर्मचारीले दोषीलाई कारबाही गर्नुको साटो उसैको पक्षमा लागेर मिल्न बाध्य पारेको पीडितहरूको गुनासो छ । आजको नयाँ पत्रिकामा खबर छ ।

म्यानपावरले मासिक चार हजार दिराम अर्थात् एक लाख २० हजार रुपैयाँसम्म आम्दानी दिलाइदिने भन्दै उनीहरूलाई ०७३ असोजमा दुबई पुर्याएको थियो ।

दुबईस्थित हमाया सेक्युरिटी सर्भिस कम्पनीमा सुरक्षा गार्डको काम गर्न लगिएका उनीहरूलाई ६ महिनासम्म त्यहाँस्थित माजुमत लेबर क्याम्पमा अलपत्र राखिएको थियो । यसरी अलपत्र परेपछि उनीहरूले २५ फागुन ०७३ मा युएईस्थित दूतावासलाई उद्धार गर्न र म्यानपावरबाट क्षतिपूर्ति दिलाइदिन निवेदन दिएका थिए ।

दूतावासको पहलमा ४३ जना पीडित आफ्नै खर्चमा नेपाल फर्किन सफल भए । बाँकी सातजना भने न्यून तलबमै दुबईको एक कम्पनीमा काम गरिरहेका छन् ।

म्यानपावर सञ्चालिका बरालविरुद्ध ४३ जनाले तीन करोड ३८ लाख ७२ हजार रुपैयाँ ठगी गरेको भन्दै पीडितहरूले क्षतिपूर्तिका लागि ६ चैत ०७३ मा सामूहिक रूपमा विभागमा उजुरी दर्ता गराएका थिए । दुबई जान उनीहरूले व्यक्तिगत सात लाखदेखि नौ लाख रुपैयाँसम्म म्यानपावरलाई बुझाएका थिए ।

प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्