खाँडो खोला र कोसी नदीको बाढीले एक बेपत्ता, पाँच सय घर डुबानमा


 



सप्तरी, साउन २७
अविरल वर्षापछि सप्तरीकाे खाँडो खोला र कोसी नदीमा आएको बाढी नियन्त्रणका लागि खटिएको प्रहरीको उद्दार टोलीसंगै रहेका एक जना बेपत्ता भएका छन् ।

तिलाठी–कोइलाडी गाउँपालिकामा नदीकाे कटान रोक्ने कार्यमा लागिरहेका अवस्थामा माथिबाट तटबन्धको माटो खसेपछि स्थानीय ६० वर्षीय डोमी यादव पुरिएर बेपत्ता भएका हुन् । त्यस क्षेत्रमा सुरक्षा निकायले डोमीको खोजी तथा उद्धार कार्य जारी राखेको छ ।

बाढीले त्यस क्षेत्रमा पाँच सय घर डुबानमा परेका छन् । विहीबारको अविरल वर्षासंगै खाँडो खोलाको बाढीले तिलाठी–कोइलाडी गाउँपालिकाको तिलाठी, सकरपुरा, बेल्हीका झन्डै चार सय घर डुबानमा परेका छन् । त्यस्तै, कोसी नदीको बाढीले हनुमाननगर कंकालिनी नगरपालिकाका मुसहरी टोलका केही घर डुबानमा परेका छन् ।

खाँडो खोलाको बाढीले राजविराज नगरपालिकाको बिरौलमा रहेको समेत तटबन्धसमेत भत्काएपछि त्यस क्षेत्रका डुमरी शिवथान, पकरीसहितका बस्तीसमेत बाढीको उच्च जोखिममा परेको छ ।

बाढीले जिल्लाको कञ्चनरूप नगरपालिका, राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी–कोइलाडी गाउँपालिकाको सैयौं बिघा धानबालीसमेत डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

खाँडो खोला नियन्त्रणमा खटेका एक व्यक्ति बेपत्ता भएका छन् । विशेष तालिम प्राप्त सेना–प्रहरीको उद्धार (रेस्क्यु) टोलीसँगै खाँडो खोलामा बाढीले गरेको कटान नियन्त्रणमा खटेका एक सर्वसाधारण पुरिएर बेपत्ता भएका छन् ।

प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्