आज बिमस्टेकको मन्त्रीस्तरीय सम्मेलन काठमाडौंमा, के विषयमा हुँदैछ छलफल ?


 



काठमाडौं, साउन २६
आज नेपाल, भारत, बाङ्लादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्ड सदस्य रहेको बिमस्टेकको १५ औं मन्त्रीस्तरीय सम्मेलन काठमाडौंमा हुँदैछ । सम्मेलनको विहीवार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन्।

नेपाल तीन वर्ष अघि बिमस्टेकको अध्यक्ष भएपछि पहिलो पटक हुन लागेको विदेश मन्त्रीस्तरीय बैठकमा विभिन्न १४ वटा विषयमा छलफल गर्ने कार्यतालिका बनाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्मेलनले अहिलेसम्म भएको प्रगतिको समीक्षा गर्ने र भावी दिशा तय गर्ने, दोस्रो, खुल्ला व्यापार क्षेत्र स्थापना गर्ने, तेस्रो, बिमस्टेक क्षेत्रमा बिजुलीको ग्रीड कनेक्सन सम्वन्धी विषयलगायतका विभिन्न १४ वटा विषयमा छलफल हुने मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।

उनकाअनुसार बिहीवार दिउँसो सचिवस्तरीय बैठक हुने र साँझ प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

बैठकले नेपालमा अब हुने भनिएको बिमस्टेक शिखर सम्मेलनको तिथि तय गर्ने बताइएको छ।
नेपाल अहिले बिमस्टेक र दक्षिण एसियाली देशहरुको क्षेत्रीय सहयोग संगठन सार्क दुवैको अध्यक्ष राष्ट्र हो।

प्रकाशित मिति: २६ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्