मुडभेडमा मारिएका खत्रीका आफन्तले दिए जाहेरी


 



काठमाडौं, साउन २४

प्रहरीसंगको मुडभेडमा मारिएका भनिएका ललितपुरका प्रवीण खत्रीका आफन्तले मंगलबार प्रहरीमा जाहेरी दिएका छन् । खत्रीका काकाले घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ ।

लागूऔषध दुव्र्यसनी खत्रीलाई पक्राउ गर्न जाँदा मुडभेडमा उनको मृत्यु भएको थियो । उनका परिवारले प्रहरीले नै गोली हानेर मारेको आरोप लगाएका छन् । प्रहरीले भने खत्रीले आफैँले कन्चटमा गोली हानेको दाबी गरेको छ । घटनाका बारेमा जाहेरी आएको र दर्ता भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी ईश्वर कार्कीले बताए ।

खत्रीले लागूऔषध कारोबार गर्ने र पटक–पटक स्थानीयलाई पेस्तोल देखाएर धम्काउने गरेको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाबाट डिएसपी अजय केसीको कमान्डमा प्रहरी टोली खटिएको थियो । ढोका बन्द गरेर भित्र बसेका खत्री प्रहरीलाई देखेपछि छतबाट घरको पछाडि चौरमा हाम फालेका थिए ।

दुवै हातमा पेस्तोल लिएर भाग्दै गर्दा उनलाई चारैतर्फबाट प्रहरीले घेरेको थियो । उनले फायरिङ गरेपछि आफूहरूले पनि फायरिङ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्य बताउँछन् । तर, प्रहरीको गोली उसलाई नलागेको अमात्यको भनाइ छ ।

खत्री लडेकै ठाउ“नजिकै गोलीको खोका भेटिएकाले पनि उनले आफैँले गोली हानेको प्रहरीको तर्क छ । जहाँबाट गोली प्रहार हुन्छ, त्यसको आसपास खोका खस्ने गर्दछ । तर, कुन गोली खत्रीलाई लागेको विधि–विज्ञान प्रयोगशालाको रिपोर्टपछि मात्र प्रष्ट हुुनेछ।

घटना विवादित भएपछि शिक्षण अस्पतालमा डा. हरिहर वस्तीबाट पोस्टमार्टम गराउन लागिएको छ । डा. वस्तीले मंगलबार नभ्याएकाले बुधबार पोस्टमार्टम हुने भएको छ । चारैतिरबाट घेरा हाली गोली हान्दा उक्त घटना भएको स्थानीयहरू बताउँछन् । समिति गठन गरी घटनाको निष्पक्ष छानविन गर्न मृतकका आफन्तहरूले माग गरेका छन् ।

प्रकाशित मिति: २५ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्