वर्ष खेलाडीको अवार्ड कुमार र अरुणालाई


 



पोखरा, साउन २२
दोस्रो पोखरा स्पोर्ट्स अवार्डमा लनटेनिसका कुमार अधिकारी र भलिबलकी अरुणा शाहीले वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

पाँच वर्षसम्म राष्ट्रिय च्याम्पियन कुमारले २०७३ सालको सातौं राष्ट्रिय खेलकुदमा सिंगलमा कांस्य र दुईवटा डबल्स इभेन्टमा स्वर्ण जितेका थिए ।

गत वर्षसमेत मनोनयनमा परेकी अरुणा २०७३ सालमा एसियन सेन्ट्रल जोनमा उपविजेता, आरबीबी एनभीए वुमन क्लब लिगमा बेस्ट सर्भर, सातौं राष्ट्रिय खेलकुदमा तेस्रो, सिर्जना आमन्त्रित अन्तर्राष्ट्रिय भलिबलमा दोस्रो, केएनपी राष्ट्रिय भलिबलमा दोस्रो भएकी थिइन् ।

वर्ष खेलाडी भएका दुवैलाई २५–२५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ। त्यस्तै, कास्की जिल्लाका उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुनबहादुर लामा र उदीयमान खेलाडीमा भलिबलकी ममता डगौरा पुरस्कृत भए ।

नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले आयोजना गरेको अवार्डमा ५५ वर्षदेखि खेलक्षेत्रमा सक्रिय पोखराका अग्रज खड्गबहादुर रानाभाट लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए । पुरस्कृत भएका अन्य विधाका विजेतालाई जनही १० हजार नगदसहित सम्मान गरिएको छ ।

प्रकाशित मिति: २२ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्