मुखमा राम, काममा हराम


 


sanket dai
संकेत कोइराला

देशको कार्यकारी अधिकार प्राप्त ‘सुशासन प्रिय’ प्रधानमन्त्री सुशील कोइरालाको दिनचर्या हजारे चेक बुझेर फोटो खिच्नु र भूइँचालो कोषमा आएको पैसा अनियमितता हुन दिन्न भन्ने सुँगा रटाइमा वित्ने गरेको छ । प्रधानमन्त्री कार्यालयको एउटा अधिकृतले गर्नुपर्ने काममा देशका सर्वशक्तिमान व्यक्ति नै लिप्त भएपछि उनको पदले ओगटेका ५० वटा ओजस्वी कुर्सीले गर्नुपर्ने कामको अवस्था के होला ? यो देशका कार्यकारी अधिकार प्राप्त राजनीतिज्ञ, जंगी, निजामती, संवैधानिक निकायका थोरै मात्र मानिसलाई आफ्नो काम, कर्तव्य र अधिकारका विषयमा हेक्का छ ।

देउरालीको ढुंगो घुमेजस्तो एउटै निश्चित घेराभित्र उनीहरु घुमेका छन् । शक्ति, सत्ता विवेकको सदुपयोगका लागि नभएर प्रतिशोध साँध्ने औजार भएका छन् । सत्तामा रहुन्जेल सेना पुलिसलाई तरुण दल, युवा संघ र वाइसीएल ठान्ने नेताहरु कुर्सीबाट झरेपछि तिनैको विषवमनमा उत्रन्छन् ।

कतिसम्म भने एक्काइसौं शताब्दीको सूचना प्रविधिको जादूमय संसारमा नेपालका हरेक तह, तप्काका कामहरु सिमसिमे राजाको शैलीमा चलिरहेको छ । सरकारी निकायमा पेस गरिने निवेदनमा समेत परिवर्तनको छनक छैन् । हातमा आई सिक्स बोक्ने, सन्तानसंग भिडियो च्याटमा कुरा गर्ने, छोराछोरीको विहे, नातिनातिनाको पास्नी, गुन्यू चोली भाइवर र स्काईपमा सम्पन्न गर्ने हाकिमहरु काममा नियतवस यस्तो प्रविधि भित्र्याउन चाहँदैनन् ।

फाइल अल्मल्याएर नमस्ते नखाइ नहुने, समस्यामा खेलिएन भने हाकिम भएको रस नपाइने विचित्रको मनोविज्ञानले उनीहरुमा बास गरेको हुन्छ । अरु त अरु देशका राष्ट्राध्यक्ष भुक्न सक्छन, टोक्न सक्दैनन ।

उनको अनुहारमा खोपीको देवता हुनुपरेको अव्यक्त पीडा छ । न्यायाधीश भएर कुराउनी नै सही खाएर जीब्रो फड्कारेका परमानन्दलाई उपराष्ट्रपति पद टोक्नु न बोक्नु जस्तै बन्यो । देशका अधिकारप्राप्त मानिसहरु मरिच चाउरिए भैंm चाउरिएका छन् ।

७० लाख निजामती कर्मचारीका सारथी मुख्य सचिव लीलामणि पौड्यालको परिचय सफल प्रशासक नभएर बागमती सफाइका अभियन्तामा साँघुरिन पुग्यो । इमान्दार चरित्र संस्थागत हुन नसक्दा साउन २२ पछि उनको परिचय फगतः आयाराम गयारामको पथिकभन्दा माथि उचाइ बढ्ने अवस्था रहेन ।

आश्चर्य त के भने देशले गुन लाएका र इमान्दार छवि बनाएका मानिसहरु उच्च निकायमा रहँदा समेत कतै आसाका किरण देखा परेनन् । मुलुकले करोडौं खर्चिएर प्रधानमन्त्री कोइरालाको क्यान्सर त भगायो तर यहाँ मौलाएको बेथितिको क्यान्सर फाल्ने कामको थालनी नै भएन । प्रधानमन्त्री बन्ने वार्मअपमा रहेका केपी ओली प्रधानमन्त्रीको ताज नलगाउँदै देश भनेकै एमाले र एमाले भनेकै आपूmको मनस्थितिमा छन् ।

अपराधी, गुण्डाका नाइकेलाई संरक्षण दिँदा जसरी गिरिजाप्रसाद कोइराला राजनेता हुनबाट चुके, ओलीको यात्रा पनि त्यतै लक्षित छ । ज्यान सगल्ती भइदिए मुलुकले काँचुली फेर्ने थियो भन्ने सदिच्छा अनुसार यिनको शरीरमा गरिएको लगानी पनि जोखिममा पर्ने देखिदैछ ।

८० लाख उपचार खर्च गरेर न्यायालयको बेथिति फालिने प्रतिक्षामा रहेका नेपाली जनताले निवर्तमान प्रधानन्यायाधीश रामकुमार प्रसाद साहबाट धोका पाएका छन् । उनको जागिरे जीवनको उत्तराद्र्ध रामकुमारबाट दामकुमारमा चढ्यो ।

एक्कै चोटी डब्बल प्रमोशनको पुरस्कार पाएका मात्र होइन, प्रहरी संगठनमा इमान्दार छवि बनाएका उपेन्द्रकान्त अर्यालको मूल्यांकन पनि न हाँसको चाल, न बकुल्लाको चालमा सीमित बन्दै गएको छ । ६ पटक अर्थमन्त्री बनेका रामशरण महतको इतिहास पटक पटक ब्याक पेपर लागेको थेत्तरो क्याम्पसे ठिटोको जस्तो भएको छ ।

उनीसंगै अर्थमन्त्री बनेका मनमोहनसिंह दुईपटक छिमेकी देश भारतको सफल प्रधानमन्त्री भएर निवृत्त भइसकेका छन् । बामदेव, प्रकाशमानसिंह लगायत अहिलेका मन्त्रीहरुले पाएको प्राप्ति च्याँखे बल्झिएको उपदान मात्र हो । यसैको परिणाम कुर्सीमा बसुन्जेल आफ्नो कामको हेक्का नपाउने, कुर्सीबाट झरेको भोलिपल्ट सत्तोसरापमा उर्लिने परिपाटी संस्कारमा अनुवाद हुँदै गएको छ ।

भोका नाङ्गा जनतालाई एकसरो लुगा र एकपेट रोटी दिन असफल हाम्रा नेताहरु एकाविहानै टीभीमा रामदेवले दैनिक लाउने भुँडी पुराणमा बाल्कोनीको ग्राहक हुन्छन् । जनताको नाङ्गो आङ टाल्ने भन्दा उनीहरुलाई रामदेवको कोर्स छुट्ला कि भन्ने चिन्ताले खग्रास बनाउने गरेको छ ।

अब त झन् आदेशको विर्कोले विवेकको भाँडो बन्द गर्नेहरुको लाममाथि लाम थपिँदा यस्ता कर्म स्वाभाविक बन्दै गएका छन् । नेपाली नागरिक भएको भन्दा रासन कार्डसंग भेटघाट गर्न नपाएकोमा छट्पटिनेहरुको संख्या बढ्दो छ ।

हिन्दी बोल्ने देउता पूजा गर्नु परेपछि बाँकी लक्ष्मणरेखा किन कोर्नुप¥यो भन्ने कुतर्क गर्नेदेखि राष्ट्रियताका नाममा भारतलाई गाली गर्न आयोजित कार्यक्रममा त्यहीँ बनेको धूप सल्काएपछि बल्ल उद्देश्य तुहिएको चाल पाउने कथित बुद्धिजीवीहरुको पनि यहाँ खाँचो छैन् । दलाई लामा भेट्न छाती फुलाएर भारत पुग्ने अनि तिनै लामाको सी ग्रेडका कार्यकर्तामाथि सुराकी गरेर हातमुखको जोहो गर्ने कपुतहरु पनि नेपाल आमाकै सन्तान भनेर छातीको आयतन बढाउँदै आएका छन् ।

पहिले पहिले ऋणले पोल्थ्यो तर अहिले ऋणले टुप्पीसम्म छोपिएकाहरु समाज सुधारक भएका छन् । करोडको ऋणीलाई अरब दिन धक नमान्ने, अरब खाएकालाई खरब र खरब पचाएकालाई देशै जिम्मा लगाउने पदचापमा देशका संयन्त्र अघि बढिरहेका छन् । बीपी जयन्ती एक सातापछि आउँदैछ ।

उनी वितेकै ३३ वर्ष नाघिसकेको छ । तिनैका सानिमाका छोरा सुशील कोइराला देशका मुखिया छन् । तर त्यही पार्टीका सभापति बीपी कोइरालाले आजभन्दा साढे तीन दशकअघि गरेको राजनीतिक प्रक्षेपण काटिकुटी जस्ताको तस्तै अहिलेको अवस्थासंग मेल खान्छ । अदालतलाई दिएको बयानमा बीपी लोभ, लालच र त्रास नमानी तात्कालिन परिस्थितिको मूल्यांकन यसरी गर्छन्– ‘नेपालमा कस्तो स्थिति छ भने, को देशभक्त नेपाली हो ? त्यहाँ कोही हिन्दुस्तानवादी छन्, कोही चीनवादी होलान्, कोही अरुवादी ।

म स्वदेश फर्कने कुरामा चीनवादी खुशी छन् रे । भारतवादी खुशी छैनन् रे । एउटा चीनवादीले त मसित भने– भारतको विरोधमा बोल्छौ भने हामीहरु सहयोग गर्छौं । भारतको सम्बन्धमा तटस्थ रहन्छौ भने हामी पनि तटस्थ रहन्छौं । र भारतको समर्थन गर्छौ भने हामीहरु विरोध गर्छौं । अर्थात, उनीहरु म स्वदेश जाने कुरालाई नेपालको सम्बन्धमा विचार गर्दैनन् ।

चीन भारतका बीचमा मेरो कस्तो भूमिका हुन्छ, त्यो सोच्छन् । एउटा राजावादीले त के सम्म भनेछ भने भारतलाई गाली गर्छ भने हामी उ स्वदेश आउने कुराको समर्थन गर्छौं, होइन भने विरोध गर्छौं । मानौं, नेपालीहरु अमेरिका वा चीन वा भारतको दलालजस्तो भइरहेका छन् ।’
ऋग्वेद सुक्त ७२÷२ मा भनिएको छ– ‘असत्यमा सत्य स्थापित छ ।’

कहिल्यै ननासिने शास्त्रीय आत्मालाई विज्ञानले इलेक्ट्रोन, प्रोटोन र न्युट्रनको नाम दिएको छ । इलेक्ट्रोन कहिल्यै नास हुँदैन । आत्माजस्तै इलेक्ट्रोन शाश्वत एवं पुरातन छन् । आत्मा र परमात्माबीच घनिष्ट सम्बन्ध हुनाले इलेक्ट्रोनकै माध्यमबाट वैज्ञानिक जगत पनि परमात्मासम्म पुग्न सक्ने आशा गर्दछ ।

मानिसको आहार विहार पनि तीन प्रकारको हुन्छ भन्दै गीताले आहारको प्रभाव मानिसको मनमस्तिष्कमा पर्ने विश्वास प्रकट गरेको छ । आहारलाई सात्विक, राजसिक र तामसिक भनेर तीन श्रेणीमा विभिाजन गरिएको छ ।

सात्विक आहारबाट मानिसमा सद्गुणको वृद्धि हुने, तामसिक आहारबाट मानिसमा तमोगुण बढेर दुष्कर्मतिर प्रवृत्त हुने जीव हत्या गरेर पाइने मासुलाई तामस आहार भनिएको छ । यस्तो आहारबाट मानिसमा आसुरी गुण उत्पन्न भई यसले मानिसलाई निर्दयी, निष्ठुर र त्रूmर बनाई दुष्कर्मतिर धकेल्छ ।
पत्याउनुहुन्छ ? मानिसको शरीरमा पानीबाहेक २२ सय सलाईको काँटी बनाउन पुग्ने फस्फोरस, सल्फर र २५ मिमि नङ तयार पार्न पुग्ने आइरन र ३० ग्राम अन्य धातु हुन्छ । मानिसको फोक्सोमा तीन क्यापिलरिज (अत्यन्तै साना रक्तनली) हुन्छन् , जसलाई पैmल्याउँदा त्यसको लम्बाई २४ सय किलोमिटर हुन्छ ।

तर के गर्नु शरीरमा आगो छ भनेर ताप्न त नमिल्ने रहेछ । मुलुक अन्धकार छ भनेर त्यसलाई बिजुलीको तार बनाउन नसकिने रहेछ । नीतिले भन्छ– ‘जो राजर्षि बनी देशको सेवा गर्छ उसले गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन, रहस्य लुकाउने क्षमताजस्ता गुणहरु आपूmमा सुरक्षित राख्नु आवश्यक छ ।’

प्रकृतिले मानिसको शरीरलाई यस्तो चमत्कारयुक्त बनाएको छ, जसका अगाडि संसारका सवै वस्तु रंगहीन ठहर्छन् । चाणक्यले मानिसको नैतिक साहसको मूल्य बताउँदै भनेका छन्– ‘ठूला महापुरुष आफ्ना आचार विचारमा सदैव दृढ रहन्छन् ।

जब कि युगको अन्त्यमा सुमेरु पर्वतले पनि आफ्नो ठाउँ छोड्छ । कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्दछ र पृथ्वीलाई जलमग्न बनाइदिन्छ । तर सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै पनि छोड्दैन् ।’

राजधानीको पानीले कसलाई कहाँ पु¥यायो थाहा छैन् । तर धरहराभन्दा अग्लो घर नबनेपछि त्यही धरहरा निर्विवाद अग्लो हुने रहेछ । ढलेपछि पनि धरहराको महिमा गाउनेहरुको अतिसय ताँती छ ।

नेपालको विकास किन भएन ? धेरैका धेरै तर्क होलान । तर मेरो ब्रम्हले भन्छ– देशको चिन्ता गर्दागर्दै आफ्नो कर्तव्य विर्सिनेहरुको लाभाले देश सुरुङतर्पm प्रवेश गरेको हो । आपूmबाहेक सबलाई फटाहामा करार गर्नेहरु जमिनमाथिको एक्लो पाहुना बन्दै गएका छन् ।

सालको पात बेरेर चिलिम तान्नेदेखि भट्टी त के तारे होटलमा पेग लगाउनेको गफमा पनि तात्विक अन्तर पाइँदैन् । अब त हुँदा हुँदा पढे लेखेका मान्छेलाई नागरिक शिक्षा दिनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ । उल्टो यात्राको यो भन्दा सकल प्रमाण अरु के हुनसक्छ ?

बुधबार जनअास्थामा प्रकाशित

संकेत कोइरालाबाट थप

ओठमा लाली, पेट खाली

प्रकाशित मिति: २ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्