डोटीमा जीप दुर्घटना : ९ जनाको मृत्यु, ६ घाइते


 


डोटी, साउन २१
डोटीमा शुक्रबारराति जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।

डोटीको दिपायलबाट बोगटान गाउँपालिका, चबराचौताराको लागि छुटेको से १ ज ४९१ नम्बरको जीप राति साढे १० बजे बोगटान गाउँपालिका ६ गगुडाधारामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब साढे तीन सय मिटर तल खसेको थियो । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बोगटान गाउँपालिका—१, सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्तिमगर, ५० वर्षीय बुढो घर्ती मगर र ४५ वर्षीय गोरख थापा मगर, ४८ वर्षीय शशीराम पुनमगर, ४५ वर्षीय ललीता देवी पुन, ४० वर्षीय टेकबहादुर पुनमगर ज्यान गएको छ ।

त्यस्तै, ३० वर्षीय चन्द्रबहादुर घर्तीमगर र शिखर नगरपालिका–१ कपल्केकीका २८ वर्षीय चालक कृष्णबहादुर नेगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

घटनास्थल जिल्ला सदरमुकामबाट करिव पाँच घन्टाको दूरीमा भएकाले घाइतेहरुको उपचारमा समस्या भएको छ ।

शुक्रबार त्यस क्षेत्रमा हिजो निकै पानी परेको र कच्ची बाटो चिप्लो भएको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति: २१ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्