भरतपुर–१९ मा आज मतदान हुँदै, सेनासहितको सुरक्षा घेरा


 



काठमाडौं, साउन २०
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा स्थानीय तह निर्वाचनको पुनस् मतदान आज हुँदैछ । कडा सुरक्षा व्यवस्थापनकाबीच मतदान हुँदैछ ।

एउटै वडाका लागि ६ वटा केन्द्रमा ३६ कर्मचारीसहित ठूलो संख्यामा सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका ४ सय ६१ जना, सशस्त्रका ३ सय जना र तेस्रो घेरामा सयभन्दा बढी संख्यामा सेना खटिएका छन् । छुट्टाछुट्टै मोबाइल टोलीको समेत व्यवस्था गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विशेष समयमा चुनाव हुन लागेकाले निकै संवेदनशील भएको बताए ।
‘वडामा बिहीबार साँझदेखि नै अघोषित रूपमा सवारी आवतजावत बन्द गरिएको थियो ।

मतदान अवलोकनका लागि निर्वाचन आयुक्त ईश्वरी पौडेल र अनुगमनका लागि सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे बिहीबारै जिल्ला पुगेका छन् । वडा नम्बर १९ मा शारदा मावि ‘क’ मतदान केन्द्रमा ६ सय ४४, ‘ख’ मा ५ सय ९९ मतदाता छन् ।

त्यस्तै जीवनज्योति आधारभूत विद्यालयको ‘क’ मतदान केन्द्रमा ६ सय ७२, ‘ख’ मा ६ सय ३४ मतदाता छन् । किरण माविको ‘क’ मा ६ सय ४४ र ‘ख’ मा ६ सय ४ मतदाता छन् । १९ वडामा ३ हजार ७ सय ९७ मतदाता छन् ।

गणना क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि अन्योल छाएको थियो । माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निकै दिन लगाएर निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय लिएको थियो ।

तर पुनः मतगणनाको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले पनि आयोगकै निर्णयअनुसार फैसला गरेपछि पुनस् मतदान गर्न लागिएको हो । मेयरमा एमालेबाट देवी ज्ञवाली र माओवादी केन्द्रबाट रेणु दाहाल चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्