भोजपुरको कुन-कुन विद्यालय नमूना बन्ने भए ?
भोजपुर, साउन १९
भोजपुर जिल्लाभित्रका तीन विद्यालय नमूना विद्यालयका लागि छनोट भएका छन् ।
साल्पासिलिछो गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालय कुलुङ, षडानन्द नगरपालिकाको षडानन्द माध्यमिक विद्यालय र भोजपुर नगरपालिकाको विद्योदय माध्यमिक विद्यालयलाई नमूना विद्यालय घोषित भएका जिल्ला शिक्षा कार्यालय भोजपुरले जनाएको छ ।
शिक्षा विभागको निर्णयअनुसार यी विद्यालयलाई नमूना विद्यालयका रुपमा विकास गर्न लागिएको हो जसका लागि २८ लाख ५० हजारको दरले बजेट निकासा हुने जिल्ला शिक्षा कार्यालयका मानबहादुर देवकोटाले जानकारी दिए ।
यी नमूना विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला, आइसिटी ल्याब, इलाइब्रेरीलगायत रहनेछन् । साथै, भौतिक पूर्वाधारको पनि विकास गरिने भएको जिल्ला शिक्षा अधिकारी डम्बर आङदेम्बेले जनाए ।
आन्तरिक अध्ययनमा प्रोत्साहन गर्न विद्यालयलाई नमूना विद्यालय घोषणा गरेर काम गर्न लागिएको हो । शिक्षा विभागले विद्यालयसँग कार्य सम्पादनमा सम्झौता गरेपश्चात् काम शुरु हुनेछ ।
प्रकाशित मिति: १९ श्रावण २०७४, बिहिबार