यी हुन् देशकै उत्कृष्ट तीन सफा सहर, सरकारले गर्यो पुरस्कृत
इलाम, साउन १८
सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ । त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु सात लाख र हेटौँडाले रु चार लाख नगद प्राप्त गरेका छन् ।
नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले नेपालका २६३ नगरपालिकामध्ये धनकुटालाई सबैभन्दा सफा शहरका रूपमा पुरस्कृत गरेको हो ।
आव २०७३/७४ को वार्षिक कार्यक्रमअनुसार फोहरमैला व्यवस्थापनमा विशेष योगदान पुर्याउने उत्कृष्ट तीनवटा नगरपालिकालाई सफा शहर पुरस्कार तथा सम्मान प्रदान गरिएको इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताउनुभयो ।
इलाम नगरपालिका २०६९ सालमा ५८ वटा नगरपालिकामध्ये दोस्रो सफा शहर र २०७२ सालमा २१७ वटा नगरपालिकामध्ये तेस्रो सफा शहरका रूपमा पुरस्कृत भएको थियो ।
सौर्यबत्तीको काम शुरू
यसैबीच, सौर्यबत्ती जडानका लागि इलाम सदरमुकाममा पोल गाड्ने काम शुरू भएको छ ।
इलाम नगरपालिकाको बजार क्षेत्रमा अव्यवस्थित रूपमा रहेको सडक बत्तीलाई व्यवस्थित गर्दै सौर्यबत्तीका लागि पोलिङ शुरू गरिएको हो ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले सघन शहरी विकास कार्यक्रमअन्तर्गत सौर्यबत्ती जडान गर्न लागेको हो ।
इलाम नगरपालिकासँगको समन्वयमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले चालु आवको माघ मसान्तसम्ममा काम सक्ने गरी सौर्यबत्तीको काम थालेको डिभिजन कार्यालयका सन्तोष नेम्वाङले जानकारी दिनुभयो ।
सौर्य बत्ती जडानका लागि सिप्रदी इनर्जीले भ्याटसहित रु एक करोड ८९ लाख ३२ हजारमा ठेक्का लिएको हो । इलाम नगरपालिकाको साविक वडा नं १, २ र ३ को मुख्य बजार क्षेत्रमा ३०० सम्म सौर्यबत्ती जडान गरिने कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: १८ श्रावण २०७४, बुधबार