सीमा नाकामा भारतीय एसएसबीको ज्यादती, चेकजाँचका नाममा सास्ती


 


लुम्बिनी, साउन १४

भारतीय अर्धसैनिक बल (एसएसबी)ले नेपाल–भारत सीमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालबाहक गाडीमाथि कडा जाँच र खानतलासी गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ ।

भन्सार नाका बेलहियामा एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारततर्फ जाने सर्वसाधारण यात्रु तथा सवारीसाधनलाई जाँच गर्न थालेपछि यात्रुलाई सास्ती हुन थालेको छ । एसएसबीले दशगजासम्म आई जाच गर्ने गरेको छ ।

भारतीय पक्षको जाँचले सुनौली नाकाबाट हुने आयात निर्यात प्रक्रिया प्रभावित भएको भैरहवा भन्सार कार्यालय बेलहियाका प्रमुख भूपालराज शाक्यले बताउनुभयो ।

नेपालतर्फ सामान लिएर आउने गाडी आउन सकेको छैन । सामान्य अवस्थामा सरदर तीन सयदेखि चार सय मालबाहक ट्रक भित्रिने गरेकामा हाल दैनिक करिब १०० देखि १५० मालबाहक गाडी मात्र भित्रिने गरेको छ ।

भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै सीमामा जाँचमा कडाइ गरिएको जनाएको छ । आउँदै गरेको भारतीय स्वतन्त्रता दिवस (१५ अगस्त) र भारत–चीन विवादका कारण जाँचमा कडाइ गरिएको बताइन्छ । भारतीय सुरक्षाकर्मीले सुनौलीसँगै अन्य सीमा नाकामा समेत निगरानी बढाएका छन् ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले सीमावर्ती क्षेत्र सुनौलीमा ढुवानी प्रक्रिया प्रभावित हुने गरी गरिएको जाँचका विषयमा भारतीय पक्षसँग छलफल भइरहेको बताउनुभयो । रासस

प्रकाशित मिति: १४ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्