चिनेको भन्दा किनेको पक्का
संकेत कोइराला
एउटा मुसाले हिरा निलेछ । हिरा मालिकले सिद्धहस्त शिकारीलाई त्यो मुसा खोजेर मार्ने कामको जिम्मा दिएछ । जब शिकारी मुसाको खोजीमा जाँदा उसले देख्यो– मुसा हजारौंको झुण्ड बनाएर बसेका थिए । तर त्यही झुण्डबाट छुट्टिएर एउटा मुसा अलग्गै बसेको थियो ।
शिकारीले हिरा निलेको ठोकुवा गर्दै अलग्ग बसेको मुसालाई च्याप्प समात्यो । यो देखेर अचम्मित हुँदै हिरा मालिकले सोधेछ – ‘यत्रा हजारौं मुसाको भीडमा तिमीले यही मुसाले हिरा निलेको भनेर कसरी चिन्यौ ?’ शिकारीले जवाफ दियो– ‘जब मूर्ख धनवान बन्छ, उ यसरी फुल्छ कि अरुसंगको मेलमिलाप नै छोडिदिन्छ ।’
चुडामणि शर्मालाई अख्तियारले यस्तै हिरा निलेको एक्ले मुसाजस्तो अवस्थामा भेटेर अदालत बुझायो । थाहा छैन– अदालतले हिरा भेट्ने हो कि धानचरीका नाममा सौ खत मिनाहा भन्ने हो । चुडामणि आपैंmमा गलत होइनन । गलत त यस्ता विरुवा उत्पादन गर्ने नर्सरी हो । दशैंको टीका लगाउँदा चुडामणिलाई उदाहरण दिएर आफ्नो स्वधर्ममा कहिल्यै सम्झौता नगरेको छोरालाई अनैतिक काम गर्न उक्साउने बाउहरु यो देशमा कति छन ?
सर्वोच्च अदालतका निष्ठावान र इमान्दार पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानको इतिहास घोकाएर आफ्नो सन्तानलाई राजहाँस बन्न सल्लाह दिने कति बाउका संकल्पहरु अहिले धर्मराएका छन ? भगवान शिव, राम, हरि, सीताजस्ता सत्चरित्रबान देवताको नाम राखेर आफ्नो सन्तानको अनुहारमा त्यस्तै पराक्रम खोज्ने कतिका अभिभावक फाटेको टोपीले पसिना पुछ्दै सपनाको खाडलबाट निस्कने प्रयास गर्दै होलान ।
काँग्रेस नेता रामचन्द्र पौडेलका बाले घाँटी घाँटीसम्म रामायण कण्ठ गरेर आफ्नो उत्तराधिकारीबाट रामराज्यको राम कल्पना गरे होलान । भगवान रामचन्द्रको रामराज्य यस्तो विधिमा चलेको थियो कि अपराधी आपैंm सरासर जेल जान्थ्यो । शिरमा एउटा रौं फुल्यो भने बाउले छोरालाई गद्दी हस्तान्तरण गथ्र्यो । रामचन्द्रहरुले चलाएको राज्य यस्तो अनौठो परिदियो कि ७५ वर्ष पुग्न लाग्दा पनि लोभले उनलाई छोडेको छैन ।
हाम्रा नेताहरु सर्पको मुखमा परेको भ्यागुतो जस्ता भएका छन्, जो कालको मुखमा पुग्दा पनि किरा फट्याङ्ग्रा भोजन गर्न चुक्दैन । समय यस्तो शक्तिशाली वस्तु हो, जसले सत्यबाहेक संसारका सबैथोक पखालेर लैजान्छ । जो मानिस जुन समयमा जन्मिन्छ, त्यो नै उसको समय हो । यदि समय बलवानले ठेक्कामा लिन सक्ने भइदिएको भए महाभारत, बेद, पुराण, रामायण लेख्ने ती कलमबाजले किन पो यो संसार छोड्न मान्थे होलान र ?
मानिसको जिन्दगीलाई दुईदिने त्यसै भनिएको होइन । एकदिन अनुकूल, अर्को दिन प्रतिकूल हुन्छ । अनुकूलमा जमिन नछोड्नु र प्रतिकूलमा धैर्य नगुमाउनु त्यसको मूल मर्म हो । जबसम्म पाप पाक्दैन, तबसम्म जतातै हरियाली छाउँछ । आपूmलाई मैमत्त शक्तिशाली लाग्छ । समयको चक्र जब अर्को गतिबाट चल्छ नि, त्यसबेला अक्करेभीरको यात्रा पनि फिक्का लाग्छ ।
यो कसैलाई सोधेर आउँदैन । न भीसा, पासपोर्टकै दरकार पर्छ । हरेक मानिसको फल्ने, फुल्ने, झाँगिने एउटा आयतन हुन्छ । बीरबल बुद्धिमानी थिए, तर बुद्धिको आडमा राजा बन्न सकेनन् । राजा हुने बाटो त तिनै मूर्ख भनिएका अकबरले समातेका थिए ।
पदमा बस्दा हेक्का राख्नुस्– तपाईंसंग ल्याण्डरोभर होस या साइकल आखिर कुदाउने बाटो उही हो । पिलपिले घडी लाउनुस या रोलेक्स– समय उही छ । मोबाइल जतिसुकै दामी बोक्नुस न फोन गर्ने व्यक्ति फेरिने होइन क्यारे । तपाईं जहाजको इकोनोमी क्लासमा यात्रा गर्नुस या बिजनेस– गन्तव्य पुग्ने समय उही नै हो । हेर्नुस त मान्छेको चाहना उड्न पाए हुन्थ्यो तर चराको चाहना आफ्नै घर भए हुन्थ्यो । फरक यत्ति हो । प्लम्बर जतिसुकै दक्ष भएपनि आँखाबाट झरेको आँसु रोक्न सक्ने तागत उसंग हुँदैन ।
अर्को सत्य मलामी र जन्ती हिँड्ने बाटो अलग हुन्न । मानिसजस्तै प्रकृतिका अन्य संरचना जीवजन्तुले पेटभर खान्छन, भोलिको चिन्ता गर्दैनन । मानिस मात्र त्यो प्राणी हो, उ सन्तान दर सन्तानको अनन्त रहर मेटाउन अहिले लागि पर्छ । उस्तै परे गर्भमा नरहेको शिशुको चिन्ता गर्छ । तपाईंले खान नपाएर आजसम्म एउटा जंगली जनावर म¥यो भन्ने खबर सुन्नुभएको छ ?
सरकार चलाउनेहरुले नेपालमा बारम्बार दुईवटा कामको अभ्यास गर्छन– एउटा निर्देशन दिने र अर्को निरन्तर बैठक बस्ने । निर्देशन दिनेले दिन्छ, सुन्नेले सुन्छ । न निर्देशन दिनेलाई दिएको निर्देशन पालना भए नभएको खोज्ने फुर्सद छ, न निर्देशन पाउनेले पालना गर्नुपर्छ भन्ने बाध्यता नै छ । यो क्रम दशकौं देखि संस्कृतिका रुपमा विकास भइरहेको छ । मुलुक आईफोन पुस्तामा पुग्दा पनि जंगबहादुरले बनाएको मुलुकी ऐन कानुनको मेरुदण्ड भएर उपस्थित छ ।
जिब्रोमा अंग्रेजी झुण्डिएर के गर्नु, कालो विरालोले बाटो काटेका नाममा स्वस्ति शान्ति गराउने झन् बढेका छन् । चलनका नाममा साउन महिनामा कपाल नकाट्ने, साउने पानी छल्न बुहारी माइत कुद्ने क्रम रोकिएको छैन । मंगलबार र शुक्रबार अशुभ हुन्छ भनेर घरको चोटा नकाट्नेहरु नछाँटिदा हवाइजहाज कम्पनीहरुले सहुलियत टिकटको उर्दी लाउनु परेको छ । त्यसैले संसारमा कसैले नगरेको नयाँ काम गर्छु भनेर उचालिनुको कुनै तुक छैन ।
हेर्नुस त नेपालमा १० वर्षमा ११ सरकार फेरिए । ती सवैको पहिलो कर्तव्य काम नभएर निर्देशन दिने हो । पद बहाल हुँदा निर्देशन, निस्कँदा टीभीबाट जनताका नाममा सम्बोधन । अनि पदमा जाँदा उत्साह, झर्दा विलाप । कुर्सी पाउँदा जनता र लोकतन्त्रको सम्मान, कुर्सी खोसिँदा जनताको अधिकारमा कुठाराघात । राजनीतिमा पात्र फेरिए पनि प्रवृत्ति नफेरिएका उदाहरण हुन् यी ।
राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट हुन्छ । त्यहाँबाट प्रधानमन्त्रीले बोकेर फर्किने कोसेली भनेको फगत निर्देशन हो । राष्ट्रपतिले प्रधानमन्त्री, प्रधानमन्त्रीले मन्त्री, मन्त्रीले सचिव, सचिवले सहसचिव बोलाउने अनि कामको नभएर निर्देशनको सरुवा, बढुवा गरिन्छ ।
त्यो भन्दा मुनि हजारौंको संख्यामा रहेका सरकारी अधिकारी, कार्यालय सहयोगी, चालक अनि मालीसम्मलाई निजामती ऐनले ट्रेड युनियनको राजनीतिक अधिकार दिएको छ । त्यो शक्तिलाई कसैको निर्देशन मान्नुपर्ने बाध्यता छैन । बरु उस्तै परे मन्त्री र सचिव पँजनीको हैसियत बोकेर उनीहरु बसेका छन् । मन्त्रीहरुको साँचो सल्लाहकारको भूमिका तिनै खरिदार, मुखियाले निभाइरहेका हुन्छन् ।
स्वकीय सचिवको जिम्मेवारी चालक र घरमा भात पकाउने भान्सेले धानिरहेका हुन्छन् । ठूला मानिसका घरको पूmल गोड्ने माली पनि करोडौं डिलमा व्यस्त हुन्छन । एक लिटर पेट्रोल सित्तै पाउन ग्राहक खोज्नेहरु शक्तिकेन्द्रको निकट पुग्नासाथ रातारात आयल निगम निजीकरण गर्ने तानाबाना बुन्न थाल्छन ।
नयाँ जनप्रतिनिधिको चयनपछि यो क्रम गाउँपालिकासम्म पुग्ने खतरा बढेको छ । यदि यस्तो नुहुँदो हो त राजनीति र अपराध उहिल्यै छुट्टिनु पथ्र्यो । राजनीतिक नेतृत्व भन्छ– स्थानीय तहको चुनावपछि सिंहदरबारको अधिकार गाउँ पुग्यो । तर सिंहदरबारभित्रको कर्मचारीतन्त्र भन्छ– हामी गाउँको सिंहदरबार चिन्दैनौं ।
यहाँ काम हैन, निर्देशन र बैठक यति प्रभावकारी हुने गरेका छन् कि तिनीहरुले तल्लो तहसम्म दर्जनौं निर्देशन र बैठकको आमन्त्रण गर्छन । यदि निर्देशन पालना गर्न बैठक बस्यो भने त्यसले समस्याका यस्ता पहाड खडा गदिन्छ कि एजेण्डा नै अलपत्र पर्छ । त्यसो त बैठक र निर्देशन पालना नहुनुको कारण खोज्ने बैठक बस्ने आँट कसैले गर्दैन । मुलुकका ६ दर्जन बढी ठाउँमा प्रधानमन्त्री पदेन रहने व्यवस्था छ । ती सवै ठाउँमा प्रधानमन्त्रीले दिने भनेको अन्ततः निर्देशन नै हो ।
संसदका समितिहरुले सरकारलाई दिएका निर्देशनको चाङले सरकार नै पुरिने स्थिति छ । विकास, सुशासन, कृषि, उद्योग, पर्यटन, सुरक्षाका नाममा सरकारी अधिकारीले दिने निर्देशन र बैठक त उल्लेख गरेर साध्य हुन्न । चिनेको भन्दा किनेको प्रभावकारी हुनु देश ओरालो लाग्नु पछाडिको प्रमुख कारण हो । हरेक पद लिलाम बढाबढमा चढाइन्छ ।
जब लिलाममा उछिनेर गएको मानिसले पद पाउँछ भने त्यसले बनाइदिएको समृद्ध देशको नागरिक भएर बाँच्न पाउँला भन्ने सोच्नु नै गलत हो । अरु त अरु स्थायी सरकारका सारथी मुख्य सचिवहरुको इतिहास हेर्नुस न, आपूmले आफ्नै लागि आफ्नै हस्ताक्षरमा निर्णय गराएर फाइदाको पदमा उडान भर्ने कस्तो प्रवृत्ति ? लोकमानसिंह कार्की, भोजराज घिमिरे, लीलामणि पौडेल हुँदै सोमलाल सुवेदीसम्म आइपुग्दा को भन्दा को कम देखिए ।
आखिर समस्याको चुरो राजनीतिक नेतृत्वमा गएर ठोकिन्छ । जुनबेला जनताभन्दा कार्यकर्ता र देशभन्दा पार्टी ठूलो भन्ने निष्कर्ष निस्कन्छ, त्यसपछि निर्देशन र बैठकको औचित्य समाप्त हुन्छ । सम्भवतः एउटा खाल्डो पुर्न प्रधानमन्त्रीले दिएको निर्देशन एक हप्ता वित्दा पनि बतास नलाग्नु पछाडिको तीतो सत्य पनि यही नै हो ।
प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार