१९५० को सन्धि परिमार्जन गर्न किन चाहँदैन भारत ?


 


काठमाडौं, साउन ११

नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी)मा भारततर्फका सदस्य महेन्द्र पी. लामाले सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिमा नेपालले के परिमार्जन गर्न चाहेको हो भन्ने प्रस्ट पार्न नसकेको बताएका छन्।

‘नेपालले अहिलेसम्म सन्धिको कुन धारामा के परिवर्तन गर्न चाहन्छ भनेर प्रस्ट बताउन सकेको छैन’, जापानको टोकियोमा हालै आयोजित एक अन्तरक्रियामा प्रबुद्ध समूहका सदस्य लामाले भने, ‘स्पष्ट भएर आउन सकेको खण्डमा छलफल गर्न भारत तयार छ।’ जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापकसमेत रहेका लामा भारतमा नेपालसम्बन्धी विज्ञका रूपमा चिनिन्छन्।

सन् १९५० को सन्धि परिमार्जनका लागि आवश्यक सुझाव दिन समूहको बैठकमा छलफल जारी रहेका बेला लामाको यस्तो भनाइ आएको हो। नेपाली पक्षले भने प्रबुद्ध समूहको अहिलेसम्म बसेका चारपटकका बैठकमा उक्त सन्धिका धारामा परिवर्तन गर्न चाहेका विषय प्रस्तुत गरिसकिएको जनाएको छ।

बरु भारतीय पक्षले त्यसमा स्पष्ट जवाफ दिइसकेको छैन। यद्यपि, भारतीय पक्षले सन्धि पुनरवलोकनबारे जवाफ नदिइसके पनि त्यसबारे नेपालले प्रस्ट कुरा राखेन भन्दै उल्टै आलोचना गर्न थालेको हो। समूहको पाँचौं बैठक अगस्ट अन्तिम साता सीमावर्ती नेपालगन्ज या विराटनगरमा बस्नेछ।

पछिल्लोपटक लामाले पनि आलोचनाको शैलीमा अभिव्यक्ति दिएपछि नेपाली पक्ष भारतले सन्धि परिमार्जन गर्न नचाहेको हो कि भन्दै सशंकित देखिएको छ। समूहमा नेपालका तर्फबाट कार्यकारी निर्देशक यादव खनालले लामाको अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गरेका छन्।

‘सन् १९५० को शान्ति तथा मैत्री सन्धिका सबै धारामा नेपालका तर्फबाट प्रस्ट रूपमा आफ्ना कुरा राखिसकिएको छ’, कार्यकारी निर्देशक खनालले भने, ‘बरु भारतका तर्फबाट हालसम्म त्यसमा धारणा नदिएको अवस्था छ।’ भारतीय पक्ष सन्धि पुनरवलोकन गर्न सकारात्मक रहेको विश्वास गर्दै आएको उनको भनाइ छ। ‘आगामी दिनमा थप छलफल कसरी अघि बढ्छ ? अनि, केही भन्न सकिएला’, उनले भने।

अप्रिलमा काठमाडौंमा भएको बैठकमा नेपाली पक्षले सन्धिका सबैजसो धारामा संशोधन हुनुपर्ने धारणा व्यक्त गरे पनि भारतीय पक्षले त्यसमा स्पष्ट धारणा पेस गरेको थिएन। बैठकमा नेपाल पक्षका सदस्य नीलाम्बर आचार्यले सन्धिलाई समयानुकूल परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्दै विशेष प्रस्तुति दिएका थिए। उनले सन्धिका धारा ५, ६ र ७ लाई नेपालले पुनरवलोकन गर्न चाहेको स्पष्ट पारेका थिए। आजको अन्नपूर्णमा खबर छ।

प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्