नेपाल अफगानिस्तानसंग पुनः पराजित, विश्वकप छनोटमा असफल


 


काठमाडौं, साउन १०

आइसीसी अन्डर नाइन्टिन विश्वकप खेल्ने नेपालको सपना असफल भएको छ । सिंगापुरमा मंगलबार भएको छनोट खेलमा अफगानिस्तानसंग पराजित भएपछि विश्वकपको यात्रा रोकिएको हो ।

नेपालले अफगानिस्तानसंग लगातार दुई हार ब्यहोर्यो । आज भएको लिगको अन्तिम खेलमा पनि नेपाल अफगानिस्तानसंग ९६ रनले पराजित भयो । सिंगापुर क्रिकेट क्लबमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६ ओभर पाँच बलमा एक सय ९५ रनमा अलआउट भयो ।

३६ रनमा पहिलो विकेट गुमाएको अफगानिस्तानले ४४ रनमा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि ४९ रन हुँदा अफगानिस्तानको तेस्रो विकेट झरेको थियो ।

अफगानिस्तानका लागि इब्राहिम जार्दनले एकसय एक रन बनाएर सतकिए पारी खेले । नाभिद ओबेइदले २२ रन र अली खेइलले २४ रन जोडे । एक सय ५४ रन हुँदा पाँच विकेट गुमाएको अफगानिस्तानले त्यसपछि थप ४१ रन बनाउँदा बाँकि सबै विकेट गुमायो ।

बलिङ तर्फ नेपालका लागि साहव आलम र दिपेन्द्रसिंह ऐरीले तीन तीन विकेट लिए । जवाफी व्याटिङमा उत्रेको नेपाल ४० ओभर तीन बलमा ९९ रनमा अलआउट भयो । सुरुवातदेखिनै कमजोर रहेको नेपालले १० रन हँुदा नेपालको पहिलो विकेट झर्यो । त्यसपछि १२ रन हुँदा दोस्रो विकेट खेर फाल्यो ।

दई रन मात्रै बनाएर आशिफ शेख पेभेलियन फर्किए । त्यसलगत्तै १८ रन हुँदा प्रनित थापामगर पनि तेस्रो विकेटको रुपमा पेभेलियन फर्किए ।

त्यसलगत्तै फेरि २३ रन हुँदा अनिलकुमार शाह मात्र ६ रनमा पेभेलियन फर्किए । जसले गर्दा नेपाल हारको बाटोमा लाग्यो । दिपेन्द्र ऐरीले ४८ रन बनाउँदा बाकि खेलाडी एकपछि अर्को रुपमा आउट भएपछि नेपाल ९९ रनमा अलआउट भयो ।

प्रकाशित मिति: १० श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्