१२ किलोमिटर सडक निर्माणमा १३ सय अवरोध !


 


काठमाडौं, साउन १०

साढे १२ किलोमिटर दूरीको त्रिपुरेश्वर–नागढुंगा सडकमा अवरोध भने साढे १३ सयवटा पाइएको छ ।

अवरोध हटाउन नसक्दा सडक विस्तारको काम सक्नुपर्ने समयसम्म पनि निराशाजनक देखिएको छ । सरकारी निकायबीच समन्वय अभाव हुनु, एउटै ठेकेदारले धेरै खण्डमा काम गर्नु, साइट क्लियर नगरी ठेक्का लाग्नुले यो सडकखण्डमा समस्या भएको हो ।

सहरी विकासमन्त्री प्रभु साहसहितको टोली सोमबार त्रिपुरेश्वरबाट नागढुंगासम्म अनुगमन गर्दा १३ सय ६३ वटा अवरोध फेला परेको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार विद्युतका पोल ३४१, ट्रान्सफर्मर ३३, टेलिफोन पोल तथा तार २३७, टेलिकम म्यानहोल १९, खानेपानी ट्यांकी १, रूख १३५, सडकबत्ती २२ र घर–टहरा तथा पर्खाल ५७५ वटासहितको अवरोधले सडक विस्तारमा समस्या भएको छ ।

मन्त्री साहले सडक विस्तारमा देखिएका अवरोधलाई चाँडै समाधान गरिने बताए पनि समस्या भने ज्युँका त्युँ रहने देखिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

प्रकाशित मिति: १० श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्