महिला विश्वकप :रोमाञ्चक खेलमा भारतलाई पराजित गर्दै इंग्ल्याण्ड बन्यो च्याम्पियन


 



लण्डन, साउन ९
लण्डनमा हिजो सम्पन्न महिला विश्वकपको फाइनल खेलमा भारतविरुद्धको रोमाञ्चक खेलमा आयोजक इंग्ल्याण्ड ९ रनले विजयी भएको छ ।

पहिलो पटक विश्वकपको उपाधि जित्ने दाउँमा रहेको भारतको योजना सफल हुन सकेन । सुरुवातीदेखि आक्रामश रुपमा मैदानमा प्रस्तुत भएको भारत अन्तिम अवस्थामा कमजोर बनेको थियो ।

इङ्ल्याण्डले दिएको २ सय २९ रनको लक्ष्य पछ्याउने क्रममा भारत ३ विकेटको क्षतिमा १ सय ९१ रनको सहज स्थितिमा रहेको थियो । तर, ८६ रनसहित क्रिजमा खेलिरहेकी पुनम राउत एलबीबब्लु आउट भएपछि भारतक कमजोर बन्यो । उनलाई इङल्याण्डकी आन्या श्रवसोलले आउट गरिन् ।

भारतले पछिल्ला ७ विकेट मात्र २८ रनमा गुमाउन पुग्यो । फास्ट बलर आन्याले ४६ रन खर्चेर ६ विकेट लिँदै इंग्ल्याण्डका लागि जितको आधार तय गरिन् । ८ बल बाँकी छँदै भारत २ सय १९ रनमा अल आउट हुन पुग्यो । कुनै पनि बलरले विश्वकपको फाइनलमा गरेको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन थियो ।

विश्वकपको फाइनलमा सबैभन्दा ठूलो लक्ष्य पछ्याउने क्रममा रहेको भारतविरुद्ध आन्याले १९ बलमा ११ रन खर्चेर ५ विकेट लिएकी थिइन् ।

अस्ट्रेलियाविरुद्ध शतकीय पारी खेलेकी हर्मनप्रीत कौरले ५१ रनको योगदान दिए पनि भारतलाई हारबाट जोगाउन सकिनन् ।

यसअघि पहिलो ब्याटिङ गरेको इंग्ल्याण्डले ७ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो । इंग्ल्याण्डका लागि नटाली स्कीभरले ५१ तथा शारा टेलरले ४५ बनाइन् । सन् २००९ पछि इंग्ल्याण्डले जितेको यो पहिलो अन्तर्रा्ष्ट्रिय उपाधि हो ।

प्रकाशित मिति: ९ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्