घरमै सुत्केरी भए तीनपुस्ते सार्वजनिक


 


बैतडी, ९ साउन : पाटन नगरपालिका–८ खोड्पेस्थित सिद्धेश्वर स्वास्थ्य चौकीको भित्तामा नागरिक बडापत्रसँगै एउटा फरक खाले सूची देखिन्छ। त्यो हो– स्वास्थ्य चौकी नआएर घरमै सुत्केरी गराउनेको तीनपुस्ते विवरण।

जहाँ ठूला अक्षरमा लेखिएका छन्– घरमै सुत्केरी गराउने महिला, पति र ससुरा/बाबुको नाम तथा ठेगाना। साथमा सुत्केरी भएको मिति पनि। आजको कान्तिपुरमा खबर छ ।

प्राय: स्वास्थ्य संस्थामा आफूकहाँ प्रसूति सेवा लिनेको विवरण अद्यावधिक गरिन्छ, तर यहाँ भने उल्टो छ। ‘प्रसूतिका लागि स्वास्थ्य संस्थामै आउने संस्कार विकास गर्न यस्तो उपाय अपनाइएको हो,’ स्वास्थ्य चौकी प्रमुख मदनसिंह महराले भने, ‘तीनपुस्ते विवरण सार्वजनिक गर्न थालिएपछि सामाजिक मर्यादामा आँच आउने डरले स्वास्थ्य संस्थामै सुत्केरी हुन आउनेको संख्या बढेको छ।’

गतवर्ष साउनयता यस क्षेत्रका १२ जना घरमै सुत्केरी भएको तथ्यांक छ। अघिल्लो वर्ष यो संख्या २४ थियो। गाउँलाई पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न स्वास्थ्य संस्थाबाहिर थप एउटा सुरक्षित प्रसूति केन्द्र खोल्ने तयारी भएको उनले बताए। स्वास्थ्य चौकी पुग्न असहज रहेका बस्तीमा पायक पर्ने गरी केन्द्र स्थापना गर्न लागिएको हो।

संस्थाले गर्भवतीको प्रसवको अनुमानित मितिसहित महिला स्वास्थ्य सेविकालाई फोनबाट खबर गर्ने व्यवस्था गरेको छ। उनीहरूले गर्भवतीको घरमै गएर स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहित गर्दै आएका छन्।

टाढा घर भएका र पति बाहिर रहेका महिलाहरू घरमै सुत्केरी हुने गरेको स्वास्थ्य चौकी व्यवस्थापन समिति सदस्य मोहनसिंह ऐरले बताए। गतवर्ष स्वास्थ्य कार्यालयले २०७४ असारभित्र पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएको थियो।

तर घरमै सुत्केरी हुने क्रम नघटेकाले लक्ष्य पूरा हुन सकेन। अब २०७५ असारभित्र लक्ष्य हासिल गर्न गाउँका संस्थाहरू परिचालन गरिएको उनले बताए। सुरक्षित मातृत्व र पूर्ण संस्थागत सुत्केरी बनाउन जिल्लाका १२६ ठाउँमा सुरक्षित प्रसूति केन्द्र सञ्चालन गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा. गुणराज अवस्थीले बताए।

 

प्रकाशित मिति: ९ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्