भरतपुर महानगर मुद्दाको टुंगो आज पनि लागेन, कहिले हुन्छ सुनुवाई ?


 


काठमाडौं, साउन ८

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विषयमा सर्बोच्च अदालतमा परेको रिट आज पनि टुंगित सकेन ।

आज सुनुवाई सुरु भएपनि समय अभावमा मुद्दा सर्वोच्चमा हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मुद्दाको सुनुवाई गरे पनि हेर्दाहेर्दैमा रहेपछि भोलि पनि सुनुवाई जारी रहने भएको हो।

यसअघि साउन २ गते पनि सुनुवाई हेर्दाहेर्दैमा राखेर न्यायाधीश भण्डारी विदेश भ्रमणमा गएका थिए । उनी फर्केपछि आजको लागि पेशी तोकिएको थियो।

जेठ १४ गते मध्यरातमा मतगणना जारी रहेको बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित छ । मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो।

पुनः मतदानको निर्णयविरुद्ध एमालेका वडा नम्बर १९ का वडा सदस्य उम्मेदवार समेत रहेका गुन्जमान बिकले सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रकाशित मिति: ८ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्