दाहालको दस्ताबेज : माओवादीले रोज्यो नयाँ बाटो


 


काठमाडौं, साउन ८
बल प्रयोगको सिद्धान्तलाई आत्मसात गर्दै आएको माओवादी केन्द्रले औपचारिक रूपमै ‘संसद्वाद’ अवलम्बन गरेको छ।

पार्टी सचिवालय बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनलाई अब शान्तिपूर्ण र प्रतिस्पर्धात्मक रूपमा संस्थागत उपयोग गर्ने लिखित प्रस्ताव पेस गरेपछि माओवादीले औपचारिक रूपमा ‘संसद्वाद’ लाई अवलम्बन गरेको हो।

दाहालको लिखित प्रस्तावलाई सचिवालय बैठकले पारित गरेको छ। दाहालले निर्वाचनलाई रुसमा लेनिनले ‘दुमा’ उपयोगको अर्थका रूपमा नेपालमा लिन नहुने भन्दै अब शान्तिपूर्ण र प्रतिस्पर्धात्मक नीति उपयोग गर्नुपर्ने उल्लेख गरेका हुन्। आजको अन्नपूर्णमा खबर छ ।

लेनिनले सन् १९०५ को निर्वाचनमा पार्टी पराजित भएपछि पार्टी बचाउन भन्दै पुनः क्रान्तिमै जाने निर्णय लिनुभएको थियो। माओवादी केन्द्रले पनि यसअघि निर्वाचनलाई मात्र उपयोगका रूपमा लिँदै आवश्यक परे फेरि क्रान्तिमै फर्किने बताउँदै आएको थियो।

तर, शनिबार पारित दाहालको राजनीतिक प्रतिवेदनपछि भने वैधानिक रूपमा अबदेखि उसले निर्वाचनलाई प्रयोग गर्ने स्पष्ट गरेको छ। केन्द्रीय सचिवालय बैठकमा यो विषयलाई व्याख्या गर्दै दाहालले पार्टी निर्वाचनमा पराजित भए पनि संस्थागत प्रयोग गर्नुपर्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

‘अहिलेको परिवर्तन सामन्ती शक्ति, वैदेशिक प्रतिक्रियावादी शक्तिलाई पचेको देखिँदैन। ०६२/६३ को जनआन्दोलनका सहयात्रीलाई पनि चित्त बुझेको छैन’, दाहालको गोप्य दस्ताबेजमा भनिएको छ, ‘कांग्रेसको बुर्जुवा यथास्थितिवादी धारा र एमालेको पहाडिया उच्च जातीय अन्धराष्ट्रवादी र परिवर्तनविरोधी संशोधनवादी धारालाई मलजल गरेर प्रतिगमनतिर लाने षड्यन्त्र भइरहेको छ। यसको सामना गरेर जानुपर्छ।’

सारमा दाहालको दस्तावेज

– लेनिनको ‘दुमा’ नीति नेपालमा अनुपयुक्त
– शान्तिपूर्ण र प्रतिस्पर्धात्मक नीति अवलम्बन गरिने
– परिवर्तन उल्टाउन देशी/विदेशी चलखेल
– कांग्रेस ‘बुर्जुवा यथास्थितिवादी’
– एमाले ‘पहाडिया अन्धराष्ट्रवादी’
– चुनाव जितेका स्थानमा आधारइलाका निर्माण
– केन्द्रीय समिति विघटन गरिने
– घोषणापत्र तयार पार्न नारायणकाजी श्रेष्ठको कमिटी
– टिकटका लागि रामबहादुर थापा नेतृत्वको समिति गठन

प्रकाशित मिति: ८ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्