दाँवाली मिलन क्लबको अर्थमन्त्रीलाई सम्मान, भोजपुरको विकासमा सधै लाग्ने अर्थमन्त्रीको प्रतिबद्धता


 


काठमाडौं, साउन ७
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दाँवाली मिलन क्लब लगायतका भोजपुरे संघ संस्थाले शनिबार सम्मान गरेका छन् ।

राजधानीमा आयोजित एक भव्य समारोहकाबिच दाँवाली मिलन क्लब, दाँवाली समाज, कृष्ण लक्ष्मी लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान र जनपयोगी बचत तथा ऋण सहकारी संस्थाले मन्त्री कार्कीलाई सम्मान गरेका हुन् ।

गत जेठ २४ गते कार्की अर्थमन्त्री भएका थिए । सम्मान समारोहमा बोल्दै अर्थमन्त्री कार्कीले भोजपुरको विकासमा सधै आफू लागि रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो सम्मानको भावना मैले बुझेको छु, अर्थमन्त्री कार्कीले भने भोजपुर जिल्लाको विकासमा मेरो सधै ध्यान जानेछ । आफू पदमा भएका बेला जिल्लाको विकासमा कुनै कसर बाँकी नरहेको भन्दै मन्त्री कार्कीले जिल्लाको विकासका लागि आफ्नो प्रयन्त जारी रहने बताए ।

हिले–भोजपुर सडक चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिएको भन्दै अर्थमन्त्री कार्कीले उत्तरी क्षेत्र जोड्ने लम्सुवाघाटको पुल निर्माणले गति लिने बताएका थिए ।

जिल्लाको विकासमा सबै एक हुनु पर्ने भन्दै मन्त्री कार्कीले, सबै क्षेत्रमा भएका भोजपुरेहरुले आ–आफ्नो ठाउँबाट जिल्लाको भावना बुझे भोजपुर चाँडै माथि उठ्ने बताए ।

भोजपुर उठाउन सकिन्छ, मन्त्री कार्कीले भने भोजपुरेहरु धेरै क्षेत्रमा स्थापित भएका छन्, जिल्लाको भावनासँग जोडिनुपर्याे । कार्यक्रममा २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उर्तिण क्लब सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको थियो ।

क्लबले प्रत्येक बर्ष यसरी नै विद्यार्थीहरुलाई सम्मान गर्दे आएको क्लबका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए । सामाजिक क्षेत्रमा स्थापित यो क्लबले भोजपुरबाट प्रतिनिधित्व गर्ने मन्त्री, सासंद तथा विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्दे आएको छ ।

कार्यक्रममा, सांसद, मन्त्रालयका सचिव, सुरक्षा निकायका विशिष्ट अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति: ७ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्