३२ प्रतिशत युवाको रोजाइ कतार, किन बढ्यो आकर्षण ?


 



काठमाडौं, साउन ७

देशमै पर्याप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीका लागि पलाएन हुने युवाको संख्या बढ्दो छ । वैदेशिक रोजगारीमा जाने युवामध्ये ३२ प्रतिशतको रोजाइ कतार भएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा मात्रै दुई लाख पाँच हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि कतार पुगेको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ । गत आवमा वैदेशिक रोजगारीका लागि बिदेसिएका युवाको संख्या भने ६ लाख ४० हजार ६ सय ४२ छ ।

कतार जाने युवाको संख्या दुई लाख पाँच हजार सात सय ५६ रहेको छ । आर्थिक वर्ष २०७२/७३ मा कतार जानेको संख्या करिब साढे एक लाख हाराहारी थियो । सरकारले २०७२ असारदेखि लागू गरेको फ्री भिसा तथा टिकटको निर्णयसँगै ओरालो लागेको वैदेशिक रोजगारीको क्षेत्रसमेत लयमा फर्केको हो ।

आव ०७२/७३ मा चार लाख १८ हजार नेपाली कामका लागि बिदेसिएका थिए भने आव ०७१/७२ मा पाँच लाख १२ हजार युवा रोजगारीका लागि बाहिरिएका थिए ।

सरकारले ल्याएको फ्री भिसा तथा टिकट र २०७२ सालको शक्तिशाली भूकम्पले पनि रोजगारीका लागि विदेशिने युवाको संख्यामा कमी आएको थियो ।

आव २०७२/७३ मा विदेश जानेको संख्यामा झन्डै ३५ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ ।
म्यानपावर व्यवसायीले सरकारको फ्री भिसा तथा टिकटको निर्णयले वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएका बताएका थिए । तर, लागू गरेको वर्ष व्यवसायीको आन्दोलन तथा हड्तालले बिदेसिने युवाको संख्यामा कमी आए पनि गत आवका त्यसमा सुधार भएको थियो ।

सरकारले नेपालबाट एक सय १० भन्दा बढी राष्ट्रमा वैधानिक रूपमा श्रम स्वीकृति दिएर युवालाई रोजगारीका लागि विदेश पठाउने गरेको छ । सबैभन्दा बढी युवा रोजगारीका लागि जाने मुलुक मलेसियासहित खाडीका ६ राष्ट्र हुन् । देशले प्राप्त गर्ने रेमिटेन्स रकममा पनि यी राष्ट्रको ९० प्रतिशत योगदान छ ।

आव २०७३/७४ मा नयाँ कामका लागि मात्रै म्यानपावरमार्फत तीन लाख ५५ हजार एक सय ४४ युवा विदेश पलायन भएका थिए ।

वैदेशिक रोजगारीमा जाने युवाले पनि म्यानपावर व्यवसायीले भनेको शुल्क तिर्ने र विदेशमा गएर समस्या आएपछि मात्रै आफू ठगिएको उजुरी गर्ने चलन बढ्दो छ ।

त्यसमा कतार पहिलो नम्बरमा छ । कतारमा एक लाख १३ हजार चार सय ४८ जना र मलेसिया ९५ हजारभन्दा बढी छन् । मलेसिया नयाँ काममा लागि जानेको संख्यामा पनि सुधार आएको छ ।

तर, कतार जाने संख्या भने निरन्तर बढ्दो छ । पछिल्लो दूई महिना कतारमा गल्फ राष्ट्रले लगाएको नाकाबन्दीको ४० प्रतिशतसम्म गिरावट आएको थियो । यो संख्या पनि विस्तार बढ्दै गएको कार्यालयको भनाइ छ ।

गत आवमा मात्रै विदेशबाट नेपाल आई पुनः विदेश जानेको संख्या पनि दुई लाख ५६ हजार सात सय ७० छ । जसमा कतार जानेको संख्या नै बढी छ । कतार जाने ८४ हजार, साउदी अरब ६८ हजार र मलेसिया २४ हजार छन् ।

कतारमा आकर्षण किन
दुई वर्षदेखि कतारका रोजगारदाता कम्पनीले नेपालबाट धेरै कामदार लगिरहेका छन् । कतारमा २०२२ मा हुन लागेको विश्वकप फुटबलका लागि आवश्यक संरचना निर्माण गर्ने काममा धेरै युवा कतार पुगेका हुन् ।

सरकारले फ्री भिसा तथा टिकटको निर्णय लागू गरेपछि मलेसियालगायत दुबई, साउदी अरबबाट म्यानपावर व्यवसायीले राम्रा कम्पनीको डिमान्ड नल्याउँदा पनि युवा कतार जान बाध्य भएका छन् ।

मलेसियाका रोजगारदाता कम्पनीले पनि नेपालका म्यानपावर व्यवसायीलाई कामदार पठाएबापत सेवा शुल्क पनि नदिने हुँदा व्यवसायीले कामदारलाई फकाई फुलाई कतार पठाउने गरेका छन् ।

दुई वर्ष पहिले मलेसिया पहिलो र साउदी अरब दोस्रो गन्तव्य राष्ट्र थिए । पछिल्लो सयम कतारलाई एक्लाउने गल्फ राष्ट्रहरूको कदमले कामदारमा केही त्रास सिर्जना गरेको छ ।

प्रकाशित मिति: ७ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्