यू–१९ विश्वकप छनोट : नेपालको रोमाञ्चक जित


 


काठमाडौं, साउन  ६

सिंगापुरमा जारी यू–१९ विश्वकप छनोट खेलमा नेपालले घरेलु टीम सिंगापुरलाई रोमाञ्चक तरिकाले पराजित गरेको छ । जित नजिक पुगेको सिंगापुरलाई नेपालले पराजित गर्यो ।

१६९ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रेको सिंगापुरले ४३ ओभरको समाप्तीमा ५ विकेट गुमाएर १३९ बनाइसकेको थियो । यो बेलासम्म सिंगापुर जित नजिक पुगेको आकलन गरिएको थियो ।

४२ बलमा ३० रन मात्र चाहिएको बेला सिंगापुरसंग ५ विकेट अझै थियो । तर, त्यसपछि नेपाली खेलाडी लयमा फर्किए । त्यसपछि सिंगापुरले सात रन बनाउँदा नेपालले सिंगापुरको ५ विकेट लिएर जित दर्ता गरे ।

४४ औं ओभरको पहिलो बलमा हंसुल दीपको विकेट लिएका नेपाली कप्तान सन्दिप लामिछानेले ओभरको अन्तिम बलमा युवराज सिंहलाई पनि पभेलियनको बाटो देखाए ।

अर्को ओभरमा किशोर महतोले सिंगापुरको आठौं विकेट लिए । फेरि ४६ औं ओभरको दोस्रो बलमा सन्दिपले विकेट लिएर नेपाल विजयी उन्मुख भयो । नभन्दै ४७ औं ओभरको पाँचौं बलमा सपन सरार्फले बीबी विक्रमको विकेट लिएर नेपालले जित दर्ता गर्यो ।

सिंगापुरका लागि हंसुल दीपले सर्वाधिक ३२ रन बनाए भने सिद्धान्तले २५, आर रोहनले २३, सेन अग्रवालले २१ रन र युवराजको नाममा १९ रन जोडे ।

सन्दिपले ४ विकेट लिँदा पवन सरार्फ र किशोर महतोले २–२ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले १० ओभरमा २९ रन लिएर एक विकेट लिएका छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ऐरीको अर्धशतकको मदतमा ४६.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्