निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, आयोगमा को-को छन् ?


 


काठमाडौँ, साउन ५

सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले पाँच सदस्यीय आयोग गठन गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सरकारले जति सक्दो चाँडो कार्य सम्पादन गर्नका लागि आयोगलाई २१ दिनको समय दिएको छ । निर्वाचन सम्पन्न गर्नका निमित्त संवैधानिक व्यवस्थानुसार आयोग गठन गरिएको हो ।

आयोगका सदस्यमा माधव अधिकारी, डा विश्वकल्याण पराजुली र गणेशराज कार्की तथा सदस्य सचिवमा योगेन्द्र शर्मा पौडेल रहनुभएको छ ।

बैठकले मुख्यसचिव डा सोमलाल सुवेदीले दिएको राजीनामा स्वीकृत गर्नाका साथै अतिरिक्त दरबन्दीमा राखिएको उहाँको पदलाई खारेज गरेको छ ।

सरकारले भूकम्पबाट प्रभावित संरचना पुनःनिर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी दोस्रो संशोधन कार्यविधि, २०७४ स्वीकृत गरेको छ । साथै राष्ट्रिय जनता पार्टीले राखेका मागको बारेमा समेत छलफल भइरहेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्