हरिवंशका यस्ता छन् सुख, दुःख
दुःखलाई जति अस्वीकार गरे पनि मान्छेको जीवन सुख र दुःख दुई रंगको समिश्रण हो । दुःखले नै मान्छेलाई सुख खोज्ने अवसर र ऊर्जा दिन्छ ।
दुःखको अनुभूति नहुने हो भने न सुखको खोजी हुन्छ र न सुख के हो भन्ने नै बुझिन्छ । सफल ब्यक्तिका सुख–दुःख र संघर्ष आफौंमा प्रेरणा र संग्रहका पाठ बन्ने गर्छन् । लोकप्रिय कलाकार हरिबंश आचार्यले आफ्ना सुख–दुःखबारे यसरी कुरा गरेका छन् ।
जीवनमा सुख र दुःख
जीवनमा सुख र दुःख दुवै हुन्छ तर, मान्छे दुःख बढी सम्झन्छ । दुःख सम्झेर फेरि दुःखैमा पर्छ । यो मान्छेको स्वभाव पनि हो । सुख वरीपरी हुन्छन्, साना सुखलाई हामीले वास्ता गरेका हुँदैनौं । तर, स–साना सुखले नै हामीलाई ठूलो सुख फेला पार्न मद्दत गर्छ । सधैँ दुःखी भएर त दुःखैको घर हुन्छ, दुःखैको झ्याल–ढोका हुन्छ, अनि सुख त भित्र आउनै पाउँदैन । फेरि, हामीले दुःखलाई जति नकारे पनि दुःखको अस्तित्व रहन्छ । त्यो त्यसै मेटिएर जाँदैन । मेरा दुःख धेरै छन् । सायद सबैका दुःख धेरै हुन्छन् । फेरि पनि यहाँ थोरै दुःख धेरै सुख भन्नुपर्नेछ । सुरुवात सुखैबाट गरौँ ।
एसएलसी पास
म तीनपटकमा बल्ल एसएलसी पास भएको हुँ, त्यो पनि थर्ड डिभिजनमा । यो कुरा धेरै ठाउँ आइसक्यो । दई पटक फेल भएपछि पास हुँदा मलाई निकै सुख मिलेको थियो ।
अचेलका भाइबहिनी एसएलसीमा डिस्टिङ्शन आएन, फस्र्ट डिभिजन आएन भनेर दुःखी हुन्छन् । तर, त्यो बेला थर्ड डिभिजनमा पास हुँदा पनि मैले ठूलै सुखको अनुभव गरेँ । बिहेबारी बिहे अघिदेखि म मीरालाई मन पराउथेँ । पछि उनैसँग बिहे भयो ।
मन परेको मान्छेलाई नै जीवनसाथी पाउँदा खुसी हुने नै भएँ । उनिसंग जति समय बिताएँ, त्यो जीवनको निकै सुन्दर समय हो । जीवनको यो ठूलो सुख हो ।
मदन दाइसँगको भेट
मेरो जीवनको अर्को सुख मदनदाइ(मदनकृष्ण श्रेष्ठ)सँगको भेटपछि कलाकारिता क्षेत्रमा प्राप्त सफलता नै हो । यो सुखको सृंङ्खला लामो छ । फेरि पनि यो एउटै सुख हो । जब हामी मह जोडी बनेर कलाकारितामा लाग्यौँ, हाम्रो प्रहसनले चर्चा पाउन थाल्यो । हाम्रा क्यासेटले बजार लिन थाले । म एक्लै भएको भए के हुन्थ्यो, थाहा छैन । तर, मदनदाईलाई भेटेर मह सञ्चार खोल्यौँ । यसपछि मैले जागिर खोज्दै हिंड्नु परेन, सफल भइयो । त्यसैले मदनदाइसँगको भेट र सहकार्य मेरो ठूलो सुख हो ।
मोटरसाइकल किन्दा
म कामको सिलसिलामा यताउता हिँड्दा सार्वजनिक गाडी चढ्थेँ । आफ्नै सवारी नहुँदा मलाई निकै गाह्रो हुन्थ्यो । अहिले त मसँग अरु साधन पनि छन् । अहिले अरु साधन भएका वेला भन्दा पहिलो पल्ट मोटरसाइकल किनेको दिन म निकै खुसी भएँ ।
सन्तान सुख
बिहेपछि सन्तान हुनु स्वभाविक हो । छोरो, लोग्ने हुँदै बाबु बनियो । छोराहरु जन्मे, हुर्के । सन्तान सुख पनि ठूलै कुरा हो ।
घर बनाउँदा
यो मेरो सबैभन्दा ठूलो र महत्वपुर्ण सुख हो । सानैमा बा–आमा गुमाएँँ । बा–आमा गुमाएपछि गैह्रीधाराको मेरो पुख्र्यौली घर अर्कैले खाइदियो । कसरी, कसले खायो त्यतातिर नलागौँ । आफ्नो कमाईले ०४० सालमा घर बनाएँ, घट्टेकुलोमा । आफ्नै कमाइले घर बनाउने सपना धेरैको हुन्छ । घर बनाएर सकिएको दिन मलाई सबैभन्दा सुखको अनुभव भयोे ।
रमिलाको साथ
हुन त यो ठूलो दुःखपछिको सुख हो । जब मैले श्रीमती मीरालाई गुमाएँ । त्यसपछि मेरो जीवनमा रमिला आइन् । मलाई सहारा दिइन् । उनको सहारा नपाएको भए यत्तिको सम्हालिन सक्दिनँथेँ होला । दर्शक र श्रोतासामु पुग्न सक्दिँनथेँ होला । रमिलाको साथ मेरो जीवनको पछिल्लो सुख हो ।
मीराले छोडेर जाँदा
मीराले छिटै यो संसार छाडिन्, मलाई छाडिन् । छोराहरुलाई पनि छाडेर गइन् । उनलाई गुमाउनु जीवनको सबैभन्दा ठूलो दुःख हो ।
बाबु–आमा र घर गुमाउँदा
मैले सानै उमेरमा बाबु–आमा गुमाएँ । बुवा गुमाउँदा ६ वर्षको थिएँ र १३ वर्ष नपुग्दै आमालाई गुमाएँ । आमा–बुवा बितेपछि हाम्रो पुख्र्यौली जग्गा अर्कैले खाइदियो ।
बाबुआमा पनि गुमाउनु, घरबास पनि गुमाउनु, यो मेरो जीवनको ठूलो दुःख हो । मान्छेको जीवनमा ब्यक्तिगत सुख र दुःखको प्रत्यक्ष प्रभाव हुन्छ । तर, समाजसँग जोडिएका सुख–दुःख पनि ब्यक्तिगत जीवन प्रभावित हुन्छ ।
हाम्रो देशले अहिलेसम्म सुख पाएको छैन । सुखको बाटोमा हिंड्न त खोजेका छौं तर, प्राप्त सुख संस्थागत भइसकेको छैन । किनभने, जनआन्दोलन सफल भयो, गणतन्त्र आयो । संविधानसभाको निर्वाचन भयो ।
संविधान बनेर आन्दोलनका उपलब्धि संस्थागत भएपछि मात्रै देशले सुख पाउँछ । आशा गरौँ, संविधान बनेर देशले सुख पाउनेछ, अनि सबै जनता सुखी हुनेछन् ।
प्रकाशित मिति: २९ असार २०७२, मंगलबार