यू–१९ विश्वकप छनौटमा नेपालको विजयी सुरुवात, घरेलु मैदानमा सिंगापुर पराजित


 



काठमाडौं, साउन २
यू–१९ विश्वकप एसियाली छनौट प्रतियोगितामा घरेलु टोली सिंगापुरलाई पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको छ । नेपालले सिंगापुरलाई उसको घरेलु मैदानमै चार विकेटले हराएको हो ।

७४ रनको झिनो लक्ष्य पछ्याएको नेपाले १७ ओभर २ बल खेलेर ६ विकेट गुमाउँदै ७७ रनको लक्ष्य पूरा गर्यो । आठौं नम्बरका ब्याट्सम्यान पवन सर्राफले चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन् ।

ओपनर सन्दिप सुनार र आसिफ शेख क्रमसः १ र ४ रनमै आउट भएपछि नेपालको इनिङ सुरुमै धर्मराउन पुगेको थियो । तेस्रो नम्बरमा आएका प्रनित थापामगरले २३ रन बनाए भने अनिल साहले १९ रन बनाए ।

त्यस्तै, दिपेन्द्र सिंह ऐरी र प्रकाश केसीले क्रमशः २ र ६ रन मात्र बनाउन सके । रोहित कुमार पौडेलले अविजित ११ रन बनाए । नेपालले ७ अतिरिक्त रन पाएको थियो ।

नेपाल बलरहरुका सामू सिंगापुरका ब्याट्सम्यान निकै दबावमा रहे । दोस्रो विकेटका लागि सिन अग्रवालले युवराज सिंहसँग १३ रनको साझेदारी गरे । अग्रवाल ११ रनमा आउट भए ।

त्यसपछि नेपाल बलरहरु लगातार विकेट लिन सफल भए । नेपालका कप्तान सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए भने शाहब आलमले २ र महतोले २ विकेट लिएका थिए ।

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्