सधै गाली खाने देउवाले आज कसरी ताली पाए, आखिर ताली पाउने कारण के हो ?


 


काठमाडौँ, साउन १
गत जेठ २३ गते प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएपछि कुनै त्यस्तो दिन छैन् जहिले देउवाले गाली नखाएका हुन् । कहिले साझा सवालमा सहभागीलाई गाली गरेर होस् वा दैवी प्रकोपका पीडितलाई सम्बोधन गर्दा विज्ञप्ती वाचन गरेर ।

देउवा आलोचन र हाँस्य पात्रका रुपमा यो डेढ महिना प्रधानमन्त्रीको रुपमा समत बिताए । तर, आज देउवा एकाएक ताली खाने पात्रका रुपमा देखा परेका छन् ।

जनताको प्रत्यक्ष समस्याको रुपमा रहेको काठमाडौंको सडकको अवस्थाबारे देउवाको चासोले सर्वत्र चर्चा पाएको छ ।

उनले काठमाडौंको सडकको दुरावस्था अन्त्यका लागि सरोकारवाला निकायलाई कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाभित्रका सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायत सरोकारवाला निकायका मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न उहाँले निर्देशन दिएका हुन् ।

शुक्रबार अपराह्न राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयाँलको ढलको पानीले बगाएर निधन भएको थियो ।

यसैगरी, सामाखुसीमा पनि बालिका सत्या सापकोटाको ढलको पानीले बगाउँदा उद्धार गरिएको घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री देउवाले तत्काल यस्ता समस्या नदोहोरिने गरी समाधान गर्न सबै निकायका अधिकारीलाई समन्वयात्मक रुपमा काम गर्न निर्देश गरेका छन्।

“सरकार जनताका लागि बनेको हो, जनताको समस्यालाई हामीले कुनै हालतमा समाधान गर्नुपर्छ”, प्रधानमन्त्रीले भने, “काठमाडौँमा सडक हो कि पोखरी चिन्न नसक्ने अवस्था छ, साना विद्यार्थी हिँड्दा हिँड्दै ढलमा पसेका छन्, खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ, तपाईंहरु के गरिरहनुभएको छ ? काठमाडौँ उपत्यकाका खाल्डा तत्काल पुर्नुहोस्, थप बजेट चाहिए म उपलब्ध गराउँछु ।”

प्रधानमन्त्री देउवाले सरोकारवाला निकायका प्रमुखलाई तत्काल स्थलगत रुपमा खटिएर समस्या समाधान गर्नसमेत निर्देशन दिएका छन् । “तपार्इंहरुले आजै स्थलगत रुपमा गएर काम गर्न निर्देशन दिनुस्, बढीमा १५ दिनभित्र काठमाडौँका खाल्डाहरु पुर्नुहोस्, फुटेका ढलहरु बनाउनुहोस्, ढलेका बिजुलीको पोल गाड्नुहोस्”, उहाँले भन्नुभयो, “मैले अबको १५ दिनभित्र काठमाडौँमा खाल्डाखुल्डी देख्न नपरोस्, मलाई यसको जानकारी दिनुहोस् ।”

प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाका नेपाल टेलिकम, विद्युत् प्राधिकरण र सडक विभागले समन्वय गरेर काम गर्न पनि निर्देशन दिएका छन् । “एउटै खाल्डो खनेर बनाउन सकिने कामका लागि तपाईंहरु किन तीन पटक खाल्डो खन्नुहुन्छ”, उहाँले सोध्नुभयो, “अब समन्वय गरेर काम गर्नुहोस् ।”

प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाको एकीकृत विकास आयोजनाको प्रस्ताव तयार गर्नसमेत निर्देशन दिए । सेवा दिने निकायका काम निजी कम्पनीलाई करारमा लिएर पनि प्रभावकारी रुपमा गर्न सकिने उहाँको धारणा थियो ।

प्रकाशित मिति: १ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्