ललितपुर महानरद्वारा ३ अर्ब २३ करोड बराबरको बजेट प्रस्तुत


 


ललितपुर, असार ३१

ललितपुर महानगरपालिकाले आव २०७४/७५ का लागि रु तीन अर्ब २२ करोड ९१ लाख १० हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

आज आयोजित ‘आर्थिक वर्ष २०७४/७५ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रम’ मा नगर प्रमुख चिरीबाबु महर्जनले आन्तरिक स्रोत र राजस्व बाँडफाँडबाट उक्त रकमको आय अनुमान गरेको बताउनुभयो ।

चालूतर्फ रु ४३ करोड १२ लाख ८७ करोड (१३.३५ प्रतिशत) र पूँजीगततर्फ रु दुई अर्ब ७९ करोड ७८ लाख २३ हजार (८६.६५ प्रतिशत) खर्चको अनुमान गरिएको छ ।

परिषद्ले आन्तरिक आय रु एक अर्ब २२ करोड ४४ लाख प्रस्ताव गरेको छ । आन्तरिक स्रोतबाट रु एक अर्ब १६ करोड ४४ लाख र राजस्व बाँडफाँडबाट रु छ करोड आय हुने अनुमान गरिएको छ ।

गत आवमा स्थानीय कर, सेवा शुल्क, दस्तुर, बिक्री, विभिन्न स्रोतलगायत राजस्व बाँडफाँडबाट रु २७ करोड ९४ हजार ६२२ आम्दानी भएको थियो । आलू आवको असार २५ गतेसम्म रु ४७ करोड ५३ लाख ४४ हजार ६३१ राजस्व संकलन भएको छ । राजस्व संकलन अनुमानभन्दा ११९.८० प्रतिशत बढी हो ।

सार्वजनिक सेवा प्रवाहमा सुधारलाई प्राथमिकता दिएर कार्यक्रम बनाइएको प्रमुख महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो – “दिगो शहरी पूर्वाधार विकास र वैकल्पिक ऊर्जा प्रवद्र्धनलाई बजेटमा जोड दिइएको छ ।” बालबालिका, महिला, वातावरण, संस्कृतिको विकासलाई प्राथमिकता दिइएको उहाँ बताउनुहुन्छ ।

श्रम तथा रोजगार मन्त्री फरमुल्हा मन्सुरले जनताको विकासको चाहना धेरै भएको बताउनुभयो । उहाँले सबै दललाई समेटेर अघि बढ्नुपर्ने बताउँदै प्रदेश नं २ को निर्वाचन असोजमै गर्ने सरकारको तयारी रहेको जनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्र श्रेष्ठले लामो समयसम्म जनप्रतिनिधि नहुँदा स्थानीय निकाय कर्मचारी र दलीय प्रतिनिधिले चलाएको बताउनुभयो ।

ललितपुर उपमहानगरपालिकाका पूर्व प्रमुख बेखामान शाक्यले जनताको करको सदुपयोग गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

महानगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद दाहालले कतिपय कार्यक्रम उपमहानगरपालिका हुँदादेखि शुरु भएका र कतिपय नयाँ भएको बताउनुभयो । रासस

प्रकाशित मिति: ३१ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्