११ डीआईजी एआईजीमा सिफारिस, सिलवाल ‘लिष्ट’मा परेनन्


 



काठमाडौं, असार ३१

गृह मन्त्रालयले ११ प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।
गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको शुक्रबार बसेको बैठकले ११ डिआइजीलाई एआइजीमा सिफारिस गरेको हो ।

एघार जनाको ‘लिष्ट’ मा डीआईजी नवराज सिलवाल भने परेका छैनन् । आईजीपीका दाबेदार रहेका उनले हालेको मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ । बमबहादुर भण्डारी पहिलो नम्बरमा परेका छन् भने यसअघि आइजीपी बनाउने निर्णय गरिएका जयबहादुर चन्द दोस्रो नम्बरमा छन् ।

सरकारले चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि सिलवालले त्यसविरुद्ध सर्बोच्च अदालतमा रिट दायर गरेपछि चन्द आइजीपी हुनबाट रोकिएका थिए ।

सिलवालले दायर गरेको रिटमा सर्वोच्चले उनको नियुक्ति खारेज गरेपछि सरकारले प्रकाश अर्याललाई आईजीपीमा बढुवा गरेको छ । त्यसविरुद्ध पनि सिलवाल अदालत गए । जुन मुद्दा अझै पनि विचाराधीन अवस्थामा छ ।

भण्डारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी र चन्दलाई लागू औषध नियन्त्रण ब्यूरो प्रमुख सिफारिस गरिएको छ ।

यस्तै आईजीपीका लागि सिफारिस भएकाहरुमा देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्त, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन् ।

हेर्नुहाेस् सूची

 

प्रकाशित मिति: ३१ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्