राप्रपामा चर्किँदै विवाद : राणाले दिए पार्टी फट्न सक्‍ने चेतावनी


 


काठमाडौं, असार  ३०

 पार्टीमा अध्यक्ष कमल थापाले केन्द्रीय सदस्य मनोनित गरेको विषयलाई लिएर राप्रपामा विवाद चर्किएको छ ।

बरिष्ठ नेता पशुपतीशम्शेर राणाले एकलौटी रुपमा केन्द्रीय समिति विस्तार गरेको भन्दै असहमती जनाएपछि राप्रपामा विवाद चर्किएको हो । अध्यक्ष थापाले ४२ जना केन्द्रीय सदस्य मनोनित गरेपछि राणाले शुक्रबार नै विज्ञप्ति निकालेर थापाले गरेको निर्णयको विरोध गरेका छन् ।

केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेका राणाले केन्द्रीय समिति विस्तार र अन्य महत्वपूर्ण निर्णयमा केन्द्रीय तहका सबै नेताहरुसँगको परामर्श एवं सहमतिमा सबै पक्षको सन्तुलित प्रतिनिधित्व गरिनुपर्ने र सबैको भावना र चाहना प्रतिनिधित्व हुनुपर्नेमा अध्यक्ष थापाले ४२ केन्द्रीय सदस्य एकांगी रुपमा मनोनयन गरेको भन्दै विज्ञप्तिमार्फत जनाएका छन् ।

राणाले मधेसी, महिला, आदिवासी जनजाति, पिछडिएको क्षेत्र एवं समुदाय, दुर्गम क्षेत्र, दलितको समानुपातिक र समावेशी प्रतिनिधित्वको समेत कुनै ख्याल नगरी गरिएको मनोनयनको निर्णयले पार्टी विभाजन गर्न सक्ने समेत चेतावनी दिएका छन् ।

स्थानीय तह निर्वाचनको समीक्षा, आगामी चुनावी रणनीतिलगायत विषयमा छलफल गर्न साउन ४ गते केन्द्रीय समिति बैठक बोलाइसकिएको अवस्थामा गरिएको मनोनयनले केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको अस्तित्वलाई समेत पूर्ण रुपमा नकारेको राणाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति: ३० असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्