मन्त्रिपरिषद् विस्तार आइतबार, कुन मन्त्रालयमा कसको दाबी ?


 


काठमाडौं, असार २९
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार (१ साउनमा) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । शनिबारसम्म मन्त्रीको टुंगो लगाउने र आइतबार विस्तार गर्ने सहमति सत्तासाझेदार कांग्रेस र माओवादी केन्द्रबीच भएको छ ।

‘माओवादी अध्यक्ष शुक्रबार नेपाल फर्केपछि शनिबार दुई दलबीच मन्त्रालय बाँडफाँड टुंग्याएर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने ।

पत्नी सीताको उपचारका लागि माअाेबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार थाइल्यान्ड गएका छन् ।

प्रधानमन्त्री देउवाले २४ जेठमा पद तथा गोपनीयताको शपथ लिएपछि कांग्रेस र माओवादीबाट ३–३ र लोकतान्त्रिक फोरमबाट एक गरी सातजनालाई मन्त्री बनाएका थिए । दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार संविधान संशोधनपछि गर्ने उनको तयारी थियो । तर, प्रमुख प्रतिपक्षी एमाले र राप्रपा सहमत नहुँदा संशोधनका लागि दुईतिहाइ नपुग्ने भएपछि देउवा मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका हुन् ।

कांग्रेस र माओवादीबीच मन्त्रालयको भागबन्डा अझै मिलेको छैन । दुई पार्टीबीच कुन मन्त्रालय कसले राख्ने र कुन दलले कति मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन । स्रोतका अनुसार प्रधानमन्त्री देउवा कांग्रेसलाई ११ र माओवादीलाई ८ मन्त्रालय हुने गरी बाँडफाँड गर्ने र बाँकी मन्त्रालय अन्य दललाई दिने मनस्थितिमा छन् ।

माओवादीले भने १० मन्त्रालय मागेको छ । ‘हाम्रो दाबी १० मन्त्रालय हो,’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘राप्रपा, संघीय समाजवादी पनि सरकारमा सहभागी हुने स्थितिमा भने पार्टीको दाबी घट्न सक्छ ।’

‘माओवादीले माग गरेको मन्त्रालयको संख्या र मन्त्रालय कुन–कुन दिने भन्नेमा कुरा मिल्न सकिरहेको छैन,’ कांग्रेसबाट कार्यदलका एक सदस्यले भने, ‘प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षले शनिबार छलफल गरेर टुंग्याउने अपेक्षा छ ।’

कुन मन्त्रालयमा कसको दाबी ?
पहिलो चरणमा कांग्रेसले अर्थ, शिक्षा र श्रम तथा रोजगार तथा माओवादी केन्द्रले गृह, परराष्ट्र र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । माओवादीले सामान्य प्रशासन, आपूर्ति, स्वास्थ्य, कृषि विकास, भौतिक पूर्वाधार तथा यातायात र वन तथा भू–संरक्षण मन्त्रालय दाबी गरिरहेको छ । कांग्रेसले भौतिक पूर्वाधार तथा यातायात र वन तथा भू–संरक्षण मन्त्रालय आफैँ राख्न चाहेको छ । कांग्रेसमा रामचन्द्र पौडेल पक्षले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दाबी गरेको छ भने अर्का नेता खुमबहादुर खड्काले वन मन्त्रालय दाबी गरेका छन् ।

कांग्रेसमा व्यक्तिबारे छलफल नै भएन
कांग्रेसबाट क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल नै भएको छैन । पहिला कुन–कुन मन्त्रालय पार्टीले पाउने भन्ने तय भएपछि मात्रै व्यक्तिको विषयमा छलफल गर्ने तयारी देउवाको छ । ‘अहिलेसम्म प्रधानमन्त्रीले पार्टीमा मन्त्रिपरिषद् विस्तारमा कुन–कुन नेतालाई समेट्ने भन्नेबारेमा छलफल गर्नुभएको छैन,’ कांग्रेस नेता डा. रामशरण महतले भने । देउवाले मन्त्रालय टुंग्याएपछि पार्टी छलफल गर्ने बताएको डा. महतले जानकारी दिए ।

माओवादीले टुंग्यायो मन्त्रीको नामावली
माओवादीले पार्टीका तर्फबाट मन्त्री हुनेको नामावली टुंग्याएको छ । कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा रहेको कार्यदलले मन्त्रीहरूको नामावली टुंग्याएर पार्टी अध्यक्ष प्रचण्डलाई बुझाएको छ । कार्यदलले सिफारिस नामलाई अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । माओवादीले प्रदेश नं. १ बाट मोरङ–४ का निर्वाचित सांसद शिवकुमार मण्डललाई मन्त्री बनाई आपूर्ति मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरेको छ । प्रदेश नं. २ बाट प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । सोही प्रदेशका गिरिराजमणि पोखरेललाई स्वास्थ्यमन्त्री बनाउन कार्यदलले सिफारिस गरेको छ ।

माओवादीले प्रदेश नं. ३ बाट रामेछाप–२ का सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासनमन्त्रीका लागि कार्यदलले सिफारिस गरेको छ । प्रदेश नं. ४ का हितराज पाण्डेलाई दोहोर्‍याउने कि तनहुँकी आशा खनाललाई मन्त्री बनाउने टुंगो नलागेको माओवादी स्रोतले बताएको छ । प्रदेश नं. ५ का कृष्णबहादुर महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय र प्रदेश ६ का जनार्दन शर्मा गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । माओवादी कार्यदलले प्रदेश नं. ६ बाट कालिकोटका सांसद महेन्द्रबहादुर शाहीलाई ऊर्जामन्त्रीका लागि सिफारिस गरेको छ ।

प्रकाशित मिति: २९ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्