राजपाले फेरि ब्युँतायो ‘बहुराष्ट्रिय राज्य’, कस्तो छ माग ?


 



काठमाडौं, असार २६
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारसँग वार्ताका क्रममा स्थगित गरेको बहुराष्ट्रिय राज्यको माग फेरि औपचारिक रूपमा ब्युँताएको छ ।

निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदनका क्रममा राजपाले बुझाएको अन्तरिम विधानमा बहुराष्ट्रिय राज्यको माग राखिएको छ । आजको कान्तिपुरमा खबर छ ।

अध्यक्षमण्डलबाट पारित विधानको पहिलो वाक्यमै ‘नेपाल एक विविधतायुक्त, बहुराष्ट्रिय, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान भएको मुलुक’ भनिएको छ ।

विधानकै अर्को खण्डमा लेखिएको छ, ‘एकताबद्ध भएका ६ पार्टीको एकतालाई मूर्त रूप दिन, तिनको स्वामित्वलाई ग्रहण गर्दै एकताको मूल मर्म–भावना एकीकृत रूपमा विकसित गर्ने र देशको सार्वभौमिकता, एकता, बहुराष्ट्रियता जोगाउन सधैं प्रयत्नशील रहने उद्देश्य राखी राजपा स्थापना गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।’

राजपाले आर्यखस, जनजाति र मधेसी गरी तीनवटा राष्ट्रियता रहेको तर्क गरेको छ । तर ठूला दलले बहुराष्ट्रियताको नाराले मुलुक विखण्डनमा लैजाने उल्लेख गर्दै त्यो अवधारणा घातक रहेको दाबी गरेका छन् ।

यो ११ बुँदे माग नै मधेसकेन्द्रित दलहरूले सरकारसमक्ष पेस गरेको र हालसम्म विचाराधीन रहेको औपचारिक डकुमेन्ट हो ।

त्यही वर्ष माघ पहिलो साता चलेको तीन दल–मोर्चा कार्यदलस्तरीय वार्तामा सहमतिको मिलनविन्दु खोज्ने क्रममा मोर्चाले यो माग छाडेको थियो ।

राजपा नेता महन्थ ठाकुरले मधेस आफ्नै जनसंख्या, भूगोल, भाषा आदिका कारण छुट्टै राष्ट्र बन्ने ‘क्राइटेरिया’ पुगिसकेको भनी बताउने गरेका छन् ।

प्रकाशित मिति: २६ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्