मन्त्रीविहीन मन्त्रालय : सचिव विदेश भ्रमणमा, अझै को–को छन् लाइनमा ?


 



काठमाडौं, असार २६
मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा कर्मचारीहरू भेटिन छाडेका छन् । एक महिनादेखि २३ मन्त्रालय मन्त्रीविहीन हुँदा सिंहदरबार परिसर सुनसानजस्तै देखिन्छ ।

विभिन्न मन्त्रालयका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतहरू पनि विदेश भ्रमणमा जाने क्रम बढेको छ । असार मसान्तमा मन्त्रालयमा विभिन्न शीर्षकमा बाँकी रहेको बजेट सक्न उच्चपदस्थ कर्मचारी विदेश भ्रमणमा जाने गरेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रधानमन्त्री कार्यालयकै सचिव रामकुमार आचार्यको टोली विदेशमा छ । केही सचिवहरुले धेरै पटक विदेश भ्रमणमा जाने रेकर्ड राखेका छन् ।

प्रधानमन्त्री कार्यालयका कानुनसचिव राजीव गौतम पटक–पटक विदेश भ्रमण गर्ने सचिवमा पर्छन् । खासगरी प्राविधिक मन्त्रालयका सचिव, सहसचिवहरू सबैभन्दा बढी विदेश भ्रमणमा जाने गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरू सरकारी कामकै सिलसिलामा बढी विदेश जाने गरेका छन् । जसअनुसार धेरैपटक विदेश जानेमा परराष्ट्रसचिव शंकरदास बैरागी पहिलो सूचीमै पर्छन् ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनाली, वाणिज्यसचिव ङइन्द्रप्रसाद उपाध्याय, वनसचिव प्रकाश माथेमा, कृषि विकाससचिव सुरोज पोख्रेल, सिँचाइसचिव रामानन्दप्रसाद यादव पटक–पटक विदेश भ्रमणमा गइरहनेमा पर्छन् ।

पर्यटन मन्त्रालयबाट मात्रै विभिन्न समूह गरी ३७ कर्मचारी विदेशमा छन् । म्यान्मारमा मात्रै विभिन्न मन्त्रालयका ९२ जना कर्मचारी रहेको स्रोतले जानकारी दिएको छ ।

स्थानीय तहको निर्वाचनका कारण केही समय कर्मचारीलाई विदेश भ्रमणमा रोक लगाइएको थियो । निर्वाचन आचारसंहिता खुलेलगत्तै दर्जनौँ कर्मचारी एकैपटक विदेश उडेका हुन् । १५ जेठदेखि असार मसान्तसम्मको समय विकास निर्माणका कार्य गर्ने र विभिन्न योजना सक्ने समय हो ।

आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राई आर्थिक वर्षको अन्त्यमा जथाभावी विदेश जाने क्रम बढेको र यसले ठुल्ठूला विकृति निम्ताउन सक्ने बताउँछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो विकृति रोक्नुपर्ने उनले बताए ।

विदेश जान किन हुन्छ मरिहत्ते ?
विभिन्न अध्ययनको बहानामा उच्चपदस्थ सरकारी कर्मचारीहरू विदेश जाने गरेका छन् । तर, उनीहरूको मुख्य उद्देश्य पैसा आर्जन गर्नु नै हो । कर्मचारीहरूले विदेश भ्रमणमा जाँदा दैनिक डेढ सयदेखि तीन सय ५० डलरसम्म भत्ता पाउने गर्छन् ।

युरोपियन देशहरूमा जाँदा सो रकममा ३३ प्रतिशत थप हुने गरेको छ । एनजिओ–आइएनजिओको खर्चमा जाने कर्मचारीले भने अझै बढी रकम पाउने गरेका छन् ।

सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले असार महिनामा कर्मचारीहरू विदेश जानेक्रम ह्वात्तै बढेको र यसले विभिन्न विकृति ल्याएको गुनासो आफूकहाँ आएको बताए ।

अझै को–को जाँदैछन् विदेश भ्रमण
डा. युवकध्वज जिसी, पशुपक्षी विकाससचिव
रामानन्दप्रसाद यादव, सिँचाइसचिव
ङइन्द्रप्रसाद उपाध्याय, वाणिज्यसचिव
डा. सुरज पोख्रेल, कृषिसचिव (हाल स्विट्जरल्यान्ड)
रामकुमार आचार्य, प्रधानमन्त्री कार्यालयका सचिव (हाल विदेशमा)
शंकरप्रसाद कोइराला, उद्योगसचिव (भर्खरै स्वदेश फिर्ता)

एकैपल्ट १२ उच्च अधिकारीको विदेश भ्रमण स्वीकृत
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिव तथा राष्ट्रिय योजना आयोगका दाधिकारीसहित १२ जनाको विदेश भ्रमण एकैपल्ट स्वीकृत गरेको थियो ।

तर, सो निर्णयलाई गोप्य राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । राष्ट्रिय योजना आयोगका केही पदाधिकारी र केही सचिवसहित १२ उच्चपदस्थ कर्मचारीलाई भ्रमणको स्वीकृति दिइएको हो ।

प्रकाशित मिति: २६ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्