कुलमानले खोले, नेपालमै पानीजहाज ल्याउन सकिने तथ्य


 



काठमाडौं, असार २५
नेपालमा पानीजहाज सञ्चालन हुन सक्ने सम्भावनाबारे ३२ वर्षअघि नै अध्ययन भइसकेको तथ्य सार्वजनिक भएको छ ।

सन् १९८५ को मार्चमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले तयार गरेको गुरुयोजनामा भारतको कलकाताबाट कोसी बेसिन हुँदै काभ्रेको दोलालघाटसम्म पानीजहाज सञ्चालन गर्न सकिने उल्लेख भएको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए।

रामेछाप–काठमाडौं पत्रकार समाजले राजधानीमा शनिबार आयोजना गरेको ‘नेपालमा जलविद्युत्को सम्भावना र चुनौती’ विषयक छलफलमा घिसिङले प्रतिबद्धता गरे अपलिफ्टिङ प्रविधिमार्फत पानीजहाज ल्याउन सम्भव रहेको बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

‘जलस्रोत व्यवस्थापनका विषयमा राज्यले सन् १९८५ मार्चमा जाइकाबाट गुरुयोजना तयार पारे पनि त्यसमा आधारित भएर खासै काम भएको छैन,’ उनले भने ।

सप्तकोसी करिडोरमा मात्रै २५ हजार मेगावाट विद्युत् क्षमताको सम्भावना छ । तर, त्यसको विकासका लागि काम नभएको उनको भनाइ छ ।

जाइकाले प्रारम्भिक रूपमा धेरै अघि अध्ययन गरेकाले पुनः अध्ययन गर्दा आयोजनाको क्षमता अझ वृद्धि हुने उनले बताए । विशेष गरी सुनकोसी १, २ र ३ तथा दूधकोसी आयोजनाको विस्तृत परियोजना गर्दा क्षमता वृद्धि गर्न सकिने उनेको भनाइ छ ।

अध्ययन प्रतिवेदनअनुसार चतरादेखि दोलालघाटसम्म नै जलासययुक्त आयोजना बन्नेछन् । ‘जलासययुक्त आयोजना ‘क्यासकेटिङ इफेक्ट’ अनुसार बन्नेछन् । क्यासकेटिङ इफेक्ट भन्नाले एउटै नदीको तल्लो भागमा एउटा जलासययुक्त आयोजना बन्छ । त्यसलाई जोड्ने गरी त्यसमाथि अर्को आयोजना बन्दै जाने प्रणाली हो,’ घिसिङले भने ।
घिसिङ प्रबन्ध निर्देशक भएपछि राजनीतिक नेतृत्वलाई यस विषयमा ध्यानाकर्षण गराइसकेका बताए । यही योजनाअनुसार सुनकोसी दोस्रो र तेस्रोको प्रि–फिजिविलिटीको काम अगाडि बढिसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति: २५ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्