बिराटनगर महानगरको मेयर बने भीम, उपमेयरमा इन्दिरा


 



बिराटनगर, असार २५
बिराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली विजयी भएका छन् । मेयर र उपमेयर दुबैमा कांग्रेस उम्मेदवार विजयी भएका हुन् ।

पराजुलीले २३ हजार ३१ मत प्राप्त गर्दै मेयरमा विजयी भए । उनी आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका विनोद ढाकाल भन्दा पाँच हजार बढी मतले विजयी भए ।

ढकालले १७ हजार ३२१ मत पाउँदै पराजित भए । मेयरका अर्का उम्मेदवार संघीय समाजवादी फोरम र माओवादीका उमेश यादव तेस्रो स्थानमा रहे ।

उपमेयरमा पनि कांग्रेसकी इन्दिरा कार्की आफ्ना निकटतम प्रतिद्वन्द्वी माओबादी केन्द्रकी नमिता न्यौपानेभन्दा साढे ८ हजार बढी मतले विजयी भइन् ।

उनले २० हजार १८६ मत पाइन् भने माओवादी केन्द्रकी उम्मेदवार न्यौपानेले ११ हजार ५४४ मत प्राप्त गरिन् ।

यो संगै महानगरपालिकामा कांग्रेस दई र एमाले दुई ठाउँमा विजयी भएका छन् । ललितपुर र बिराटनगरमा कांग्रेस र काठमाडौं र पोखरामा एमाले विजयी भएको छ ।

प्रकाशित मिति: २५ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्